
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन निर्वाचनको विकल्प नभएको बताएका छन् । चितवमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताए ।
पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए। उनले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे।
उनले भने, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु। चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु।’
यस्तै समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको दाबी छ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना रहेको उनले बताए ।









Facebook Comments