काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले २४ भदौमा सभापति रवि लामिछानेलाई बुझ्नुप¥यो भन्दै नख्खुबाट फोन आएको दाबी गरेका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै उनले उक्त फोन उपसभापति स्वर्णीम वाग्लेलाई आएको उनले जानकारी दिए । 

अर्यालले सञ्चारकर्मीसँग भने, ‘हामीले रवि लामिछानेलाई नख्खु कारागारमा गएर निकालेका होइनौँ । त्यो बेलाको सरकारको सर्वोच्च निकायबाट उहाँ (रवि)लाई बुझिदिनुहोस् भनेर अनुरोध भएपछि गएका हौँ ।’

ad

‘कि तपाईं, कि डीपी अर्याल, कि निकिता पौडेल आउनुपर्छ’ भनेर भनेको उनले बताए । रवि लामिछानेको सुरक्षाका लागि लैजान प्रशासनले आग्रह गरेको प्रमाण पार्टीसँग सुरक्षित रहेको उनको दाबी छ । उनले उक्त प्रमाण राज्यका जिम्मेवार निकायले मागेमा उपलब्ध गराउने पनि स्पष्ट पारे । 

अर्यालले भने, ‘सम्बन्धित निकायलाई छानबिनका लागि आवश्यक परे कुनै दिन पार्टीले प्रमाण उपलब्ध गराउनेछ ।’

अर्यालले २४ भदौमा भएको नख्खु प्रकरणमा आफूले गलत गरेको पाइए कारबाही भोग्न तयार रहेको पनि बताएका छन् ।