
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी अगुवा, कुलमान घिसिङलगायत नयाँ शक्ति र समूहलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद र छलफल भइरहेको दाबी गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालले रास्वपालाई मूलधारको पहिलो शक्ति बनाउन वार्ता एकदमै सकारात्मक रहेको बताए ।
आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले यसको कुनै टुंगो नलागेकाले यसबारे सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको दाबी गरेका छन् ।
उनले मुलुकलाई सही निकास दिन चुनावबाहेक अरू विकल्प नभएको बताउँदै सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने जनाएका छन् ।
अन्तरिम सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु भएको बताउँदै उनले चुनाव गराउन नसके राज्य असफल हुने विषय सबैले बुझ्नुपर्ने बताए ।
निर्वाचन आयोगले आह्वान गरेअनुसार मतदाता परिचयपत्र बनाउन रास्वपाले ७७ वटै जिल्लामा पार्टीका सबै संरचनालाई कात्तिक २५ सम्म सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिइसकेको उनको भनाइ थियो ।
भदौ २३ को घटनाका दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्ने बताउँदै नेता अर्यालले भदौ २३ गते सरकारले जेनजी आन्दोलनमाथि दमन र हत्या गरेको र २४ गतेको घटना विध्वंस भएको तर्क गरेका छन् ।
उनले यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले नपुगे त्यसलाई थप विस्तार र बलियो बनाउनुपर्ने सुझाएका छन् ।









Facebook Comments