
काठमाडौं।टी २० मा लगातार जितेको नेपाली क्रिकेट टोली एकदिवसीय (वानडे)मा भने हार बेहोरेको छ । करिब चार महिनापछि ५० ओभरको खेल खेलेको नेपाली टोली अमेरिकासँग सहजै पराजित भयो । आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग टू अन्तर्गत दुबईमा भएको उक्त खेलमा नेपाल १ सय ६ रनले हारेको हो ।
पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । टोलीका लागि ओपनिङमा स्मित पटेलले ७० रन जोडे भने मिडिल अर्डरमा मिलिन्द कुमारले नटआउट ७० रन बनाएका थिए । नेपाली बलरमा सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए । एक विकेट रनआउटमार्फत पाएको थियो ।
जवाफमा नेपालले ३०.१ ओभरमा मात्र १ सय ५६ रन बनाउन सकेको थियो । नेपालका लागि शुरुआत नै खराब रह्यो । कुशल भुर्तेल दोस्रो बलमै शून्यमा आउट भएको थियो । यसपछि भीम सार्की र आसिफ शेखले ६९ रनसम्म पुर्याए । तर, दुबै जना यही स्कोरमा पभेलियन फर्केका थिए । भीमले २९ रन र आसिफले ३७ रन बनाएका थिए ।
यसपछि कप्तान रोहित पौडेल मात्र २ रन बनाएर आउट भए । यहीँबाट नै नेपालको हार्ने संभावना बढिसकेको थियो । १ सय ५ रनसम्म पुग्दा नेपालले पाँचौं विकेट गुमायो । जसमा, आरिफ शेख २० रनमा रनआउट भएका थिए । यसपछि दीपेन्द्रसिंह ऐरी एक जना मात्रै जित दिलाउने आसमा बचेका थिए । गुलशन झा ९३०, सोमपाल कामी ९११०, करण केसी ९२० र सन्दीप लामिछाने ९०० ले दीपेन्द्रलाई साथ दिन असफल भएपछि त्यो जितको आस पनि समाप्त भएको थियो ।
सबै भार दीपेन्द्रमाथि परेपछि उनी ४० रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुन पुगे । नेपालको ब्याटिङ ध्वस्त बनाउन विपक्षीका बलर हरमीत सिंह एक नै पर्याप्त भएका थिए । उनले ८.१ ओभरमा २७ रन दिएर ६ विकेट हासिल गरेका थिए ।
आईसीसीका आठ एसोसिएट राष्ट्रहरूको सहभागिता भएको वल्र्ड कप लिग टूको अंकतालिकामा नेपाल सातौं स्थानमा यथावत रहेको छ । नेपालले १७ खेलमा १२ अंक जोडेको छ । जसमा, नेपालले ५ खेलमा जित र १० खेलमा हार बेहोरेको छ । दुई खेलको नतिजा आएको थिएन ।
तर, अमेरिका भने यो जितपछि २१ खेलमा ३० अंक जोडेर पहिलो स्थानमा उक्लियो । त्यति नै अंक जोडेको स्कटल्यान्ड भने नेट रनरेटको कारण दोस्रो स्थानमा झरेको छ । १५ औं जित हासिल गरेको अमेरिका यस प्रतियोगितामा सर्वाधिक जित हासिल गर्ने टोलीसमेत हो ।
लिग टू अन्तर्गत यस सिरिज संयुक्त अरब इमिरेट्स (यूएई)ले आयोजना गरेको हो । यी तीनै टोलीले एक अर्कासँग गरी चार चार खेल खेल्नेछन् । यूएई ६ अंकसहित पुछारमा रहेको हुनाले नेपालले बिहीबार हुने खेलमा यूएईलाई हराउने बढी संभावना छ । यूएईले १६ खेल खेलेकोमा १३ खेलमा हार बेहोरेको छ ।








Facebook Comments