
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका लागि सिफारिसमा परेका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा रोकियो । मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरेको उनले बताएका छन् ।
उनले शनिबार (कात्तिक ८ गते) प्रधानमन्त्रीले नै आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि तयारी गर्न भनेको, तर अचानक आफूलाई जानकारी नदिई मन्त्रालय फेरिएको उनको आरोप छ । जिम्मेवारी दिने भनिएको मन्त्रालय नपाएपछि अन्य मन्त्रालयको जिम्मेवारी नलिएको श्रेष्ठले बताएका छन् ।
आइतबार साँझ एक विज्ञप्तिमार्फत श्रेष्ठले आफूलाई गृहमन्त्रीले ठूलै शक्ति लागेको बताएको पनि दाबी गरेका छन् ।
केही समयपछि गृहमन्त्रीज्यूले आफूलाई फोन गरेको र उहाँले तपाईंविरुद्ध ठूलै शक्ति लागेको र प्रधानमन्त्रीज्यूलाई भेट्न सुझाव दिएको र सोपश्चात् प्रधानमन्त्री सचिवालयमा फोन गरेको र सोपछि प्रधानमन्त्रीलाई भेटी आफूलाई जानकारी नै नदिई के आधारमा मन्त्रालय हेरफेर गर्नुभएको भनी सोधेको उनले बताए ।
आफू मन्त्री बन्नका लागि नआएको तर आफ्नो विज्ञताले योगदान दिन र यो संकटमा देशका लागि लामो समय संघर्ष गरेको नागरिकको हिसाबले सेवा गर्न आएको उनको भनाइ थियो ।
सोपछि प्रधानमन्त्रीले ‘मैले अरूलाई वचन दिइसकेँ भनेर जवाफ दिएको उनले जानकारी गराए । ‘मैले हिजो बेलुका मलाई दिनुभएको वचन चाहिँ के ? भनी प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिई अर्को तिर हेर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।









Facebook Comments