काठमाडौं । विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर पत्रकार सुनिल भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भई राष्ट्रपतिद्वारा धारा २८२ अनुसार नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय असंवैधानिक भएको रिटमा जिकीर गरिएको छ । 

ad

निर्वाचनको म्यान्डेट प्राप्त सरकारले गरेको सो निर्णय ‘उत्प्रेषणका आधारमा बदर गरी कार्यान्वयन नगर्न–नगराउन’ परमादेश माग गरिएको रिटमा उल्लेख छ।

सरकारले फिर्ता बोलाएका राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेश विक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्यका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी छन्।