काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले श्रम तथा रोजगारमन्त्रीमा राष्ट्रपतिसमक्ष सिफारिस गरेकी खगेन्द्र सुनार मन्त्रीको शपथ नलिँदै विवादमा परेका छन्।

उनीविरुद्ध महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत टिप्पणी गरेको, स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलनासम्बधी जाहेरी समेत परेको छ। 

ad

सुर्खेत जिल्ला अदालतबाट सुनारविरुद्ध जारी भएको पक्राउ पुर्जी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा सुनारलाई प्रतिवादी बनाएका थिए।  

अदालतले २०८१ असार १४ गते दायर भएको मुद्दामा सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो। दैलेख, नारायण नगरपालिका–२ भैसेखोर बस्ने ३१ वर्षीय सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, दैलेखलाई निर्देशन दिएको थियो। यसरी विवादित व्यक्तिलाई मन्त्री बनाउन लागेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तीब्र विरोध भईरहेको छ ।