
काठमाडौं । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको चर्चा तीव्र बनेपछि दुवै पार्टीभित्र तरंग आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधव नेपालबीच एकताको विषयमा सहमति नजिक पुगेको भनिए पनि संगठनभित्र असन्तुष्टि बढेको छ।
नेकपा समाजवादीसँग एकता गर्दा माओवादीले आफ्नो नाम र हँसिया–हथौडा चिन्ह छाड्नुपर्ने प्रस्तावबारे नेताहरू विभाजित छन्। माओवादीभित्र धेरैजसो नेताहरूले ‘माओवादी नाम आफैंमा एक ब्रान्ड हो’ भन्दै त्यसलाई त्याग्न नहुने मत राखेका छन्। उनीहरूको भनाइमा यो नाम र चिन्ह जनयुद्ध र परिवर्तनको प्रतीक भएकाले अन्य दलसँग मिल्दा पनि त्यसलाई जोगाउनुपर्छ।
युवानेता केशव रावलले विचार र सिद्धान्त नबिगार्ने गरी मात्र एकता सम्भव हुने बताए। बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि नाम वा चिन्हका विषयमा गलत प्रचार भइरहेको भन्दै माओवादी केन्द्र हटाएर समाजवादी राख्ने वा उल्टो गर्ने मानसिकताबाट एकता सम्भव नहुने टिप्पणी गरे। माओवादी सचिव दिनानाथ शर्माले एकताको विषयमा छलफल भइरहे पनि अन्तिम टुङ्गो नलागेको बताए।
प्रचण्डमाथि पार्टीभित्रै नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि बढिरहेको छ। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा निकट समूहले उनको शैलीप्रति असम्झदारी जनाएका छन्। प्रचण्डले मंसिरमा महाधिवेशनअघि नै एकता गरेर आफ्नो नेतृत्व सुरक्षित राख्ने रणनीति बनाएको बताइन्छ।
त्यसो त नेकपा समाजवादीभित्र पनि एकताको विषयले विवाद निम्त्याएको छ। वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले अहिलेको एकता प्रस्ताव असमय र एकपक्षीय रहेको भन्दै विरोध जनाएका छन्। प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले समग्र वाम एकताको वातावरण सृजना नगरी माओवादीसँग मात्र एकता गर्दा आन्दोलन कमजोर हुने तर्क गरेका छन्।
नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार नाम, चिन्ह र नेतृत्वको मोडालिटीबारे अन्तिम सहमति भइसकेको छैन। उनका अनुसार अहिले दुवै पक्षबीच विभिन्न विकल्पमा छलफल जारी छ र टिकाउ हुने मोडेल खोजिँदैछ।
त्यस्तै, नेकपा (विप्लव)ले वाम एकताको आवश्यकता स्विकार गरे पनि तत्काल एकताको पक्षमा छैन। विप्लवले विचार, सिद्धान्त र संस्कृतिसम्म पुग्ने एकता मात्र दीगो हुने बताउँदै नयाँ समाजवादी केन्द्र निर्माणको प्रस्ताव अघि सारेका छन्।
हाल माओवादी र समाजवादीबीच नयाँ नाम 'नेकपा समाजवादी' र चिन्ह 'गोलाकारभित्र कलम' प्रस्तावमा छ, तर अन्तिम निर्णय बाँकी छ। दुवै पक्षले औपचारिक रूपमा भनेको छ, 'छलफल सकारात्मक छ, तर टुङ्गो लागेको छैन।'









Facebook Comments