काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले यस्तो बताएकी हुन्।

कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपागान्डाबाट नडराई संकल्प अनुसार अघि बढ्न सुझाव दिए। उनीहरूले भ्रष्टाचारविरूद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए।

ad

मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा काम गरेपछि पनि कठिन परिस्थितिमा मुलुकको नेतृत्व सम्हालेकी भन्दै कलाकारहरूले प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता पनि प्रकट गरे।

परिवर्तन नरूचाएका तत्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको उनीहरूको दाबी थियो। त्यसका लागि लागि सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारका विषयमा उनीहरूले चासो व्यक्त गरेका थिए।

त्यस अवसरमा कलाकार तथा सर्जकहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्म लगायतको उपस्थिति थियो।