काठमाडौं । तिहार र छठ बिदामा पनि नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र (काउन्टर) सञ्चालन हुने भएका छन् । टेलिकमले तिहार र छठ बिदामा विभिन्न सेवाहरूको महसुल भुक्तानी, सिमकार्ड वितरण तथा परिवर्तन सम्बन्धी काम गर्न काउन्टर खुला गर्ने भएको हो । 

टेलिकमका अनुसार ३, ४, ५ र ७ कात्तिकमा सुन्धारा काउन्टर खुल्ने छ । ४, ५ र ७ कात्तिकमा गोंगबु, पाटन, ठिमी, बनेपा, धादिङ, हेटौंडा, भरतपुर, टाँडी, सिन्धुली, त्रिशूली, मन्थली र चरिकोट कार्यालयमा रहेका काउन्टर खुल्नेछन्। 

ad

टेलिकमका अनुसार यी स्थानका काउन्टरहरू उल्लिखित दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । यी कार्यालय प्रादेशिक निर्देशनालय काठमाडौँ अन्तर्गतका कार्यालय हुन् । 

त्यसैगरी, टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवा अन्तर्गतका कार्यालय पनि खुल्ने भएका छन् । ३, ४, ५ र ७ कात्तिकमा उप(प्रादेशिक निर्देशनालय नेपालगन्ज, दूरसञ्चार कार्यालय कोहलपुर, गुलरिया, राजापुर र भुरिगाउँमा रहेका काउन्टर खुल्ने छन् ।

यस्तै, दूरसञ्चार कार्यालय बुटवल, बर्दघाट, मङ्लापुर, परासी, तौलिहवा, कृष्णनगर, पाल्पा, गुल्मी, अर्घाखाँचीमा रहेका काउन्टर तिहार र छठ बिदामा पनि खुल्नेछन् । योसँगै, दूरसञ्चार कार्यालय तुल्सीपुर, घोराही, लमही, बिजुवार, प्युठान, रुकुमपूर्व, रोल्पामा रहेका काउन्टर खुल्नेछन् । दूरसञ्चार कार्यालय लुम्बिनीमा रहेको काउन्टर भने ३ र ४ कात्तिकमा मात्रै खुल्नेछ ।

यी सबै काउन्टरहरू बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खुल्ने टेलिकमले जनाएको छ । टेलिकमले तिहार र छठ बिदामा मर्मत सम्भार तथा जडानको काम यथावत् रूपमा सञ्चालन गर्नेछ ।