काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलहरूका साथै अघिल्लो संसदमा प्रतिनिधित्व गरेका दलका प्रतिनिधिहरू पनि उपस्थित छन् ।

निर्वाचन तयारीसम्बन्धी छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्त पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीका प्रतिनिधिहरू सहभागी छन् ।

ad

नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी छन् ।

जारी बैठकमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल उपस्थित छन् । बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि सहभागी रहेका छन् ।

त्यस्तै, केदारभक्त माथेमा र विद्याधर मल्लिक बैठकमा पर्यवेक्षकका रूपमा सहभागी भएका छन् ।