
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डको सचिवालयबाट राजीनामा दिएको जानकारी दिइन् ।
आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारण आफूले राजीनामा दिएको उनले लेखेकी छिन् ।
‘मेरा बारेमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’
उनले लेखेकी छिन्, म, बुवाको सचिवालयमा भाइ प्रकाश दाहालको देहवसानपछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आएँ ।’
मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहेको उनले बताइन् ।
‘यस दौरानमा सबैको भावना अनुसार काम गर्न सकिनँ होला त्यसका लागि आत्मआलोचित हुँदै यतिचाहिँ म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिनँ,’ उनले थपेकी छिन्, ‘सधैँ सहयोगीका रुपमा राम्रो गर्ने कोसिस गरिरहेँ। तर दुःख लाग्छ, यो ठाउँ नै त्यस्तै हो कि जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ।’
जनयुद्धको समयमा राज्यसत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहेको उनको भनाइ छ । कुप्रचार र भ्रामक सूचना दिनेहरूले हाफ्नोबारे निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेको उनको आरोप छ ।
‘कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भइसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’
‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु,’ उनले लेखेकी छिन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।’









Facebook Comments