इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एनफिल्डमा झन्डै एक दशकपछि पहिलो जीत दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले लिभरपुलको मैदानमा २–१ गोल अन्तरको जीत दर्ता गरेको हो । 

म्यानचेस्टरको जितमा डिफेन्डर ह्यारी मगुइरले खेलको अन्तिम समयमा गरेको हेडर गोल निर्णायक बन्न पुग्यो ।

ad

प्रशिक्षक रुबेन एमोरिमको नेतृत्वमा युनाइटेडले लिगमा लगातार दोस्रो जित हात पारेको छ, जुन उनको कार्यकालमा पहिलो पटक भएको छ ।

जितसँगै युनाइटेड आफ्नो कट्टर प्रतिस्पर्धी लिभरपुलभन्दा मात्र दुई अंकले पछि परेको छ ।

युनाइटेडले खेलको दोस्रो मिनेट (६२ सेकेन्ड) मा नै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको थियो ।  ब्रायन एमबेउमोले यस मैदानमा दुई टोलीबीचको सबभन्दा छिटो प्रिमियर लिग गोल गरे । लिभरपुलका भर्जिल भान डाइकले आफ्नै टिमका एलेक्सिस म्याक एलिस्टरसँग जुध्दा म्याक एलिस्टार घाइते भए पनि रेफ्रीले खेल रोकेनन् । एमबेउमोले अमदको पासलाई उत्कृष्ट फिनिस गरे । 

पहिलो हाफमा लिभरपुलले गोलका धेरै अवसर गुमायो । कोडी गाक्पोले तीन पटक गोलपोस्टमा प्रहार गरे भने इसाक र भान डाइकले पनि मौकालाई सदुपयोग गर्न सकेनन् ।   

दोस्रो हाफमा लिभरपुलले दबाब बनायो, तर युनाइटेड आफ्नो १–० को अग्रतामा सन्तुष्ट देखियो। गाक्पोले एक पटक फेरि पोस्टमा प्रहार गरे। खेलको ६० औँ मिनेटपछि स्लटले फ्लोरियन विट्र्ज, हुगो एकिटिके र कर्टिस जोन्सलाई मैदानमा उतारेर ४–२–४ को आक्रामक संरचनामा गए।

कोडी गाक्पोले खेलको ७८ औँ मिनेटमा सब्स्टिच्युट फेडेरिको चिएसाको क्रसलाई गोलमा परिणत गर्दै लिभरपुलका लागि बराबरी गोल गरे ।

तर, लिभरपुलको सेट–पिसमा कमजोरिको फाइदा उठाउँदै, ह्यारी मगुइरले ८४ औँ मिनेटमा शक्तिशाली हेडर गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । यो लिगमा मगुइरको फेब्रुअरीपछि पहिलो गोल थियो । गाक्पोले खेलको अन्तिम समयमा गोलकिपर नभएको पोस्टमा पनि हेडर बाहिर फाल्दा लिभरपुल एक अंक प्राप्त गर्नबाट वञ्चित भयो ।

लिभरपुलले नोभेम्बर २०१४ पछि पहिलो पटक लगातार चार खेल हार वेहोरेको छ ।