
इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले टोटेनह्याम हटस्परलाई २–१ ले पराजित गरेको छ । टोटेनह्यामका प्रशिक्षक थोमस फ्र्याङ्कका लागि खेल सुरु हुनुअघि नै ठूलो झट्का लाग्यो । कप्तान क्रिस्टियन रोमेरो वार्म–अपकै क्रममा बाहिरिनुपर्यो र उनको स्थानमा केभिन डान्सो अन्तिम मिनेटमा टोलीमा समावेश भए ।
यद्यपि, घरेलु टोली टोटेनह्यामले खेलको पाँचौँ मिनेटमा नै अग्रता लियो । कर्नरबाट आएको बललाई जोआओ पाल्हिन्हाले हेड गरेर फर्काए र रोड्रिगो बेन्टाङ्करले आठ यार्डबाट बललाई गोलमा परिणत गरे । यसको दुई मिनेटपछि नै मोहम्मद कुदुसले गोल गरे पनि त्यो अफसाइडका कारण रद्द भयो ।
भिल्लाले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्यो । अन्तर्राष्ट्रिय ब्रेकमा इङ्ग्ल्यान्डका लागि चम्किएका मोर्गान रोजर्सले क्लबका लागि २० खेलपछि पहिलो गोल गरे । उनले ३७ औँ मिनेटमा करिब २० यार्डबाट एउटा गज्जबको ‘डिप्पीङ्ग सट’ हाने, जुन गुग्लियेल्मो भिकारियोलाई कुनै मौका नदिई गोलमा परिणत भयो । पहिलो हाफ १–१ को बराबरीमा टुङ्गियो ।
दोस्रो हाफमा दुवै टोलीले अवसरहरू सिर्जना गरे, तर गोल हुन सकेन । भिल्लाका एज्री कोन्साले विल्सन ओडोबर्टको गोलतर्फको प्रयासलाई गोल लाइनबाटै क्लियर गरे भने एमि मार्टिनेजले पाल्हिन्हाको कर्लिङ्ग सटलाई डाइभ गरेर बचाए ।
खेलको ७७ औँ मिनेटमा भिल्लाले पुनरागमन पूरा गर्यो । सब्स्टिच्युटको रूपमा आएका एमीलियनिओ बुएन्दियाले म्याटी क्यासको उत्कृष्ट क्रस–फिल्ड पासलाई लुकास डिग्नेले नियन्त्रण गरी उनलाई दिए । बुएन्दियाले भीडको बीचबाट निर्णायक गोल गरे ।
प्रशिक्षक थोमस फ्र्याङ्कले लुकास बग्र्भल र रान्डल कोलो मुआनी लगायतका खेलाडीहरूलाई मैदानमा उतारे पनि, ब्रेनान जोन्सनले इन्जुरी समयमा गोल गर्न नसक्दा टोटेनह्यामले हार बेहोर्यो ।








Facebook Comments