काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले परम्परागत राजनीतिक शक्तिहरूलाई समेत आत्मसात् गर्दै राजनीतिक निकास खोज्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राजसंस्था पक्षधरलाई पनि समेटेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘त्यो पनि एउटा शक्ति हो । जायज कुरा लिनुपर्छ । फेरि फर्किन सक्ने अवस्था त छैन तर पनि सँगसँगै लैजान सक्नेगरी अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छु ।’

ad

कुनै पनि पार्टी र शक्तिलाई अलग गरेर अघि बढ्न नसकिने उल्लेख गर्दै उनले भने, ‘तीनकुनेको घटना ट्रेलर थियो । त्यसलाई आत्मसात् गर्न सकेनौँ । त्यसैले अहिले जेनजीको आन्दोलन भयो ।’

प्रजातन्त्रमा पहिलो र दोस्रो दल मिल्दा विपक्ष कमजोर भएको उल्लेख गर्दै उनले सरकारमा दुईवटा दल गठबन्धन गर्नु नै गलत भएको बताए । 

अहिलेको सरकारले लोकतन्त्रको नाममा राजनीतिक दलहरुलाई निषेध गर्ने नीति लिएको भन्दै उनले आपत्ति समेत जनाए ।

उनले पार्टीमा पनि अग्रजहरुलाई निषेध गर्न नहुने धारणा राखेका थिए ।