डा. डिला संग्रौला

नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका र गौरवशाली इतिहासमाथि आज गम्भीर प्रश्न उठिरहेको छ । विसं २००७ सालदेखि हालसम्म मुलुकको हरेक राजनीतिक परिवर्तनमा निर्णायक नेतृत्व गरेको यो ऐतिहासिक पार्टी अहिले ’रक्षात्मक स्थिति’ मा पुगेको स्वयं पार्टीभित्रै स्विकारिएको छ । यस विषम परिस्थितिमा, कांग्रेसका जेनजी युवाहरूको ९ बुँदे अपिल सार्वजनिक हुनुलाई कुनै आग्रह वा गुटगत स्वार्थका रूपमा मात्र लिनु हुँदैन; यो परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत, समयसापेक्ष र युगान्तकारी आवाज हो । उनीहरूको ‘सबै बदलिऔँ, सबै मिलेर देश बदलौँ’ भन्ने आह्वानलाई गम्भीरतापूर्वक लिँदै पार्टीले आफ्नो पुरानो शैली र प्रवृत्तिमा आमूल परिवर्तन गर्नैपर्ने दबाब बढेको छ ।

ad

नेतृत्वले ‘पुरानै शैली र पूरानै प्रवृत्तिबाट अब कसैले पनि नेतृत्व गर्न सक्दैन’ भन्ने कटु सत्यलाई स्वीकार गर्नुपर्दछ  । पार्टीलाई आधुनिक, जीवन्त र युवामैत्री बनाउन  दृढ संकल्प आवश्यक छ । आदरणीय पार्टी सभापतिले भावपूर्ण सम्बोधन गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएको सन्देश दिनु एक युगको अन्त्यको संकेत हो । उहाँको योगदानको प्रशंसा गर्दै, यस विषम परिस्थितिमा गहन जिम्मेवारी सम्हालेका कार्यवाहक सभापतिलाई पूर्ण सहयोगको विश्वास दिलाउनु पार्टी एकता र निरन्तरताका लागि महत्वपूर्ण छ । कांग्रेसलाई अब अलमलिने छुट छैन, व्यापक छलफल गरेर मुलुकलाई शान्ति, स्थिरता र विकासको बाटोमा डो¥याउन कांग्रेसले नै नेतृत्व लिनु अपरिहार्य छ ।

 

हालै मुलुकले भोगेको भदौ २३ र २४ गतेका घटनाक्रमले नेपाली कांग्रेसलाई आफ्नो एजेन्डाको अग्रभागमा शान्ति, सुशासन र जवाफदेहीता राख्न बाध्य बनाएको छ । जेनजी प्रदर्शनका क्रममा जीवन गुमाएका युवालगायत सम्पूर्ण नेपालीको आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु पार्टीको मानवीय दायित्व हो । मुख्य प्रश्नचाहिँ गत  भदौ २३ गतेको दुखद घटनालगत्तै पार्टीले किन सरकारबाट बाहिरिने निर्णय गरेन ? यदि त्यस्तो निर्णय भएको भए क्षति कम हुने थियो कि ? भन्ने हो ।  

भदौ २४ का दिन देशभरि कांग्रेस नेतृत्व र कार्यालयहरूमा, कोइराला निवासदेखि चाक्सीबारीसम्म, सन्त नेता किशुनजीको आश्रमदेखि देशैभरि हाम्रा साथीहरूको घरमा छानीछानी भएका हमला, तोडफोड र आगजनीको गहिरो र निष्पक्ष छानबिन गरी दोषी जो कोही पाइए पनि तिनलाई कडा कारबाही गरिनुपर्छ । दोषीलाई उन्मुक्ति दिने खालले जुन किसिमको निर्देशन गृह मन्त्रालयले दिएको छ, त्यसको हामीले कडा विरोध गर्नुपर्छ । यसका लागि  सरकारलाई खबरदारी गर्नु अपरिहार्य छ ।

युवाहरूको ‘सुशासन’को मुख्य मागलाई सम्बोधन गर्दै, नेपाली कांग्रेसले तत्काल ‘आन्तरिक सुशासन आयोग’ गठन गर्नुपर्दछ । यस आयोगले पार्टीका जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गर्दै, निश्चित मापदण्डका आधारमा प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्ने अधिकार राख्नुपर्छ । यसले पार्टीभित्र स्वच्छ छवि र जवाफदेहिता स्थापित गर्न मद्दत पु¥याउनेछ । भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको प्रष्ट प्रतिबद्धता र पूर्ण सहयोग रहनुपर्छ । सुशासनको स्थापना नै अब कांग्रेसको राजनीतिक एजेन्डाको केन्द्रविन्दु बन्नुपर्छ । पार्टीको ‘यौवन फर्काउन’ विधानमा संशोधनको ढोका खोल्नैपर्छ । जारी केन्द्रीय समितिको बैठकले नै पार्टीको सबै तहमा प्रतिस्पर्धा मार्फत जेनजी उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गर्नुपर्दछ । युवाहरूको ऊर्जा र दृष्टिकोणलाई पार्टी सञ्चालनमा समावेश नगरी कांग्रेस आधुनिक र गतिशील बन्न सक्दैन । यो केवल आरक्षणको माग नभएर, पार्टीलाई समयसापेक्ष बनाउने सचेत माग पनि हो ।

जेनजी आन्दोलनको रापतापमा जुन परिस्थितिमा प्रतिनिधिसभा विघटन गरियो, त्यो राजनीतिक घटनाक्रम हाम्रोसामु छ । सम्माननीय राष्ट्रपतिज्यूले नै निकै जुक्ति लगाएर संविधानलाई जोगाएको र मुलुकलाई निकास दिएको बताउनुभएको सन्दर्भ महत्वपूर्ण छ । अबको मुख्य प्रश्न विघटन संवैधानिक थियो कि थिएन भन्ने भन्दा पनि किन झन्डै दुईतिहाइ बहुमत भएको सरकार सडक आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भयो भन्ने हो । फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुक अर्को संवैधानिक संकटमा फस्ने निश्चित छ । त्यसैले, प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेस अग्रसर हुनुपर्छ । जेनजी आन्दोलनको  हुटहुटीलाई संस्थागत गर्दै कांग्रेसले  नवयुवा तथा आमनागरिकलाई मतदाता सूचीमा दर्ता गराउनका लागि ‘भोट रेडी नेपाल अभियान’ सञ्चालन गर्नुपर्दछ । यसले नयाँ पुस्तालाई राजनीतिक प्रक्रियामा जोड्नेछ ।

मुलुकको शान्ति सुरक्षा अहिले अत्यन्तै नाजुक स्थितिमा रहेको छ । पाँच हजारभन्दा बढी कैदीबन्दीहरू फरार छन्, ठूलो मात्रामा बन्दुकलगायत हातहतियारहरू लुटिएका छन् । यसले स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वसर्त ‘विना कुनै भय त्रास मतदान गर्न पाउने वातावरण’माथि नै गम्भीर प्रश्न खडा गरेको छ । त्यसको लागि कांग्रेसले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्छ । हालै गएको बाढी पहिरोले देशैभरि धनजनको ठूलो क्षति गरेको छ । इलामलगायत देशैभरि बाढी तथा पहिरो पीडित जनसमुदायलाई राहत तथा पुनस्र्थापनाका लागि पार्टीले तीनै तहका सरकारहरूसँग समन्वय गरेर, आफ्ना साथीहरूलाई परिचालन गरी द्रुत गतिमा काम गर्नुपर्दछ  ।

देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइसक्नुभएको छ । उहाँहरूको भावनाको सम्मान गर्दै, परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ ऊर्जाका साथ अघि बढ्न नियमित १५औँ महाधिवेशन आगामी मंगसिर महिनाभित्र गर्ने प्रबन्ध गर्नुपर्छ । अबको महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिलाई लिपिबद्ध गर्नुका साथै हाम्रा कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ । तिहार र छठ पर्वलगत्तै सातै प्रदेशमा तीनदेखि पाँच दिन लामो चिन्तन शिविर सञ्चालन गरी आगामी १० वर्षका लागि नेपालको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दलित, महिला, मधेशी, थारु, मुसलमान, जनजातिलगायत सम्पूर्ण जनसमुदायको हक हितको सुरक्षा, रोजगारी सिर्जना, परराष्ट्र सम्बन्धलगायत विषयमा व्यापक छलफल गरी नेपालको रूपान्तरणको खाका आगामी महाधिवेशनमा प्रस्तुत गरिनुपर्दछ । नेपाल विद्यार्थी संघलगायत भ्रातृ संस्थाहरूलाई नवयुवा जोड्ने नर्सरीका रूपमा  परिकल्पना र पुनःसंरचना गर्न अपरिहार्य छ, किनकि यी संस्थाहरूमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन र गुटबन्दी व्याप्त छ । यसका लागि तत्कालै एक कार्ययोजना बनाउनु आवश्यक छ ।

अनुशासन कुनै पनि संस्थाको आधारभूत तत्व हो, तर कुनै पनि पूर्वाग्रह राखेर अनुशासनको डण्डा चलाइयो भने त्यसले संस्थालाई कमजोर बनाउँछ । २०७९ सालमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको वा विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबै साथीहरूलाई वर्तमान राजनीतिक परिस्थितिमा एकपटकका लागि आममाफी दिनुपर्दछ  । यसले पार्टीभित्र एकताको सन्देश दिनेछ । त्यस्तै, विभिन्न समयमा कांग्रेसको मूलप्रवाहबाट बाहिरिएका सबै साथीहरूलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मूलधारमा आउने आह्वान गर्नुपर्छ । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, उदारवाद र समाजवादमा विश्वास गर्ने सबै लोकतन्त्रवादीहरू अटाउने ‘बिग टेन्ट’ पार्टीको रूपमा कांग्रेस पार्टीलाई रूपान्तरण गर्नुपर्दछ ।

नेपालको परराष्ट्र सम्बन्ध अहिले निकै नाजुक अवस्थामा छ । नेपालले अपनाउँदै आएको एक चीन नीतिविरुद्ध खुला गतिविधि हुन लागेको आशंका उत्पन्न भइरहेका छन् । हाम्रो राष्ट्रिय हितको रक्षाका लागि नेपालले आफ्नानिकट छिमेकीहरूको हितविपरीत काम गरेर शक्ति राष्ट्रको खेल मैदान बन्न चाहँदैन भन्ने प्रस्ट अडान लिनुपर्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर  पुटिनसँग भेटघाट गरेर फर्केको एक साताभित्रै कसरी सत्ताच्युत हुनुप¥यो, मुलुकले यत्रो क्षति व्यहोर्नुप¥यो, हामीले यसको गम्भीर विश्लेषण गर्नुपर्छ । अन्तरिम सरकारले अहिलेसम्म परराष्ट्रमन्त्री नियुक्त गर्न नसक्नुले कूटनीतिक क्षेत्रमा अन्योल बढाएको छ । त्यसैले, नेपाली कांग्रेसले काठमाडौंस्थित सबै कूटनीतिक निकायका प्रतिनिधिहरूलाई निम्तो गरेर हाम्रो पार्टीको परराष्ट्र नीतिको बारेमा स्पष्ट गर्नुपर्दछ  ।

हामीले हिजो जे ग¥यौँ, त्यो इतिहास हो । आजको पुस्ता- जेनजी- को सपना, उनीहरूको इमानदार आक्रोश र परिवर्तनको हुटहुटीलाई पार्टीले नसमेटेसम्म नेपाली कांग्रेसले राष्ट्रको नेतृत्व गर्न सक्दैन । जननायक बीपी कोइरालाले भनेझैँ कुनै पनि राजनीतिक दलको मुख्य काम भनेको आमजनताको भावना र चाहनालाई आवाज दिने हो । जुन दिन कांग्रेसले जनता जनार्दनको भावनालाई मुखरित गर्न सक्दैन, त्यसै दिनदेखि पार्टीको औचित्य सकिन्छ ।

त्यसैले, अब व्यक्ति, गुट वा पार्टीभन्दा माथि उठेर समग्र मुलुकको हितका लागि ‘समृद्ध नेपालका लागि नयाँ कांग्रेस’ भन्ने नारा लिएर अगाडि बढ्नु अपरिहार्य छ । जेनजीको हस्तक्षेपलाई अवसरका रूपमा लिँदै, आन्तरिक सुशासन आयोगको गठन, १५औँ महाधिवेशनको सुनिश्चितता र युवामैत्री विधानमार्फत कांग्रेसले आफूलाई पुनर्परिभाषित गर्नैपर्छ ।

(पूर्व सांसद डा. संग्रौला नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी अध्यक्ष पनि हुन् ।)