काठमाडौं । लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दल खोल्नु सामान्य कुरा हो । तर, नेपालको राजनीतिक इतिहासमा संसद्का ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा भ्रष्टाचार र सुशासन कायम गर्न नसकेको भन्दै स्वाभाविक तर असंगिठत युवाहरूको समूह जेनजीहरूले गरेको आन्दोलनपछि राजनीतिक अस्थिरता देखिएको छ । राजनीतिक स्थायित्वका लागि फागुन २१ गतेका लागि चुनावको मिति घोषणा भइसकेको अवस्थामा अहिले पुराना दलहरूलाई चुनौती दिन भन्दै नयाँ दलहरू खुल्न थालेका छन् । धेरै नयाँ दलहरू खुल्ने र उनीहरूले पनि चुनावी प्रतिस्पर्धा गर्दा पुरानै दलहरू हावी हुने अवस्था कायम रहेकाले युवाहरूले दल खोल्ने होडबाजी भन्दा पनि सबै एकजुट भएर अघि बढ्नुपर्ने सुझाव राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन् । 

भदौ २३–२४ को जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गतेका लागि निर्वाचन गर्ने घोषणा गरेसँगै अहिलेसम्म ३ वटा दलले निर्वाचन आयोगमा दलदर्ताको निवेदन दिइसकेका छन् भने जेनजी अभियन्ता मिराज ढुंगानाले हिजो शनिबार दल खोल्न लागेको घोषणा गरे ।

ad

शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गरे । ‘देशको लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौं, विकासवादी हौँ,’ ढुंगानाले भने ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहो¥याए । ‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’ उनले भने ।

ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पूरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिए ।

‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । योविना हामी कतै जानेवाला छैनौँ,’ ढुंगानाले स्पष्ट भने ।

ढुंगानाले अहिलेको अवस्थालाई ‘भाँडभैलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताए । ‘हामी भाँडभैलो मच्चाउन आएका होइनौँ । विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो,’ उनले भने ।

दल दर्ताको निवेदन दिनेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टी पनि रहेको छ । साम्पाङ नेतृत्वको पार्टीको मूल एजेन्डा न्यायिक समतावाद, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचनसहित शासकीय स्वरूपमा परिवर्तन, सार्वभौम र राजकीय सत्ता जनतामा निहीत, लोकतान्त्रिक मूल्य मान्यता, भ्रष्टाचार नियन्त्रण र सुशासनलगायत छन् । 

त्यसैगरी ज्ञानेन्द्र तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले पनि निवदेन दिएको निर्वाचन आयोगले जनाएको छ । २० वर्षजति शिक्षण पेसामा रहेका तामाङ नेकपा एमाले, माओवादी केन्द्र र आमजनता पार्टीमा रहेर काम गरिसकेका व्यक्ति हुन् । 

यसैगरी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको अग्रसरतामा दिनेश प्रसाईं नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएको छ । यो पार्टीले एक पद एक व्यक्तिको अवधारणा, प्रधानमन्त्री तथा मन्त्री बढीमा २ पटक मात्रै हुन पाउने, २० प्रतिशतभन्दा कम मत पाए सरकारमा सहभागी नहुने, सुशासन, समावेशी समतामूलक समुन्नति र दिगो विकासलाई मुख्य एजेन्डा बनाएको छ । 

उक्त दलमा होटेल व्यवसाय सञ्चालकदेखि विमान सेवा कम्पनीका सञ्चालकसम्म सहभागी छन् । आफू नेतृत्वको दलले उद्योग, उद्मशीलता, सीर्जनशील लगानी, स्वदेशमै रोजगारीलगायत एजेन्डा अघि सारेको उनले जानकारी दिए । 

यसैगरी, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेकपा एसका महासचिव घनश्याम भुसाललगायत मिलेर अर्को नयाँ दल खोल्ने तयारी गरेको चर्चा चले पनि माओवादी नेता शर्माले यसको खण्डन गरेका छन् । 

फागुन २१ का लागि तय भएको चुनावमा भाग लिन आगामी कात्तिक ३० गतेभित्र निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिसक्नुपर्ने प्रावधान छ । जेन–जी आन्दोलन अघि नै दल दर्ता गर्न १० वटाले निवेदन दिएका थिए भने आयोगमा १ सय २४ वटा दल दर्ता भएर बसेका छन् ।