
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । घरमा दीपावली गर्दै तिहारको स्वागत गरिँदै छ भने पाँच दिनसम्म मनाइने उज्यालो र उमंगको पर्व तिहारको रौनक यतिबेला सहरदेखि गाउँसम्म तथा महलदेखि झुपडीसम्म छाइसकेको छ । आत्मीयता र भाइचाराको प्रतीकको रूपमा लिइने यो पर्वले हरेक परिवारमा खुसियाली र उमंग ल्याइदिओस् भन्ने सबैको चाहना हुन्छ । तर यसपालि दसैँको मुखमै भएको जेनजी आन्दोलनले मुलुकमा ठूलो जनधनको क्षति भएको र त्यसको घाउ आलै रहनुका साथै शान्तिसुव्यवस्था र अमनचयन कायम भइनसकेकोले उज्यालो चाड तिहारको अवसरमा निरसताका साथ शुभकामना दिनुपरेको छ ।
पौराणिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको उज्यालो र प्रकाशको पर्व, प्रेम, सद्भावको प्रतीक महान् पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नेपालीहरूको घर आँगनमा आए पनि आर्थिक मन्दी, राजनीतिक अस्थिरता र बढ्दो महँगीले धेरैका लागि निरस बन्न पुगेको छ । राजनीतिक अविश्वास, बढ्दो असमानताले यस वर्षको तिहार पर्वले ल्याउने हर्षोल्लास फिका बन्न पुगेको छ ।
५ दिनसम्म मनाइने यस पर्वले प्रकृति, जनावर र समाजलाई एकसूत्रमा बाँध्ने सन्देश दिन्छ । अन्धकारमाथि प्रकाश, निराशामाथि आशा र वैरभावमाथि माया स्नेहको विजयको सन्देशको रूपमा उज्यालोको उत्सवको रूपमा मनाइने तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका साथै गाई गोरु र दाजुभाइको पूजा गरिन्छ । धनकी देवी लक्ष्मीको पूजाले श्रम र समृद्धिको महत्व बुझाउँछ भने भाइटीकाले दिदीबहिनी र दाजुभाइबीचको अमीट स्नेह झल्काउँछ । तिहारलाई फूलको चाड पनि भन्ने गरिन्छ । तिहार केवल धार्मिक पर्व मात्र होइन, सामाजिक र सांस्कृतिक एकताको प्रतीक पनि हो । तिहारको संस्कृतिक पक्ष पनि छ । नेपाल कृषि प्रधान देश हो । किसानमा कृषि उपज घरमा भित्राउने समयमा उत्सव र उमंग हुन्छ । यस खुसियालीलाई प्रकृतिको कृपा मानेर पूजा गर्ने गरिन्छ । यस्तै देउसी र भैलो गीत र नृत्यले पनि संस्कृति र परम्पराको रक्षा हुन्छ । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दूशास्त्रमा उल्लेख छ । तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणीजगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दछ । प्रकृतिपूजक पर्व पनि हो तिहार । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पूजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीक समेत हो ।
उज्यालोको पर्व तिहारले अन्धकारवाट प्रकाशतिर उन्मुख हुन प्रेरित गर्दछ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने ढाका टोपीले राष्ट्रियताको भावना जागृत गर्दछ । ढाका टोपी लगाउँदा आयु बढ्ने जनविश्वास पनि छ । हरेक वर्ष मनाइने चाडपर्वको संस्कृति, परम्पराकोे निरन्तरता मात्र होइन, यसले व्यक्ति व्यक्ति, परिवार, समाज, देश र दायित्व सम्झाउन अभुतपूर्व भुमिका निर्वाह गरेको हुन्छ ।
तिहारमा चहलपहल र झिलिमिली देखिए पनि उपभोक्ताहरू महँगीको मारमा परेका छन् । दाल, चामलदेखि तेल, चिनी, तरकारी, मसला, मिठाईसम्मका वस्तुहरूको मूल्य दिन दुगुना, रात चौगुणाले हिसाबले अकासिँदा सर्वसाधारण नागरिक मारमा छन् । महँगी नियन्त्रण गर्न नीति, तत्परता र राजनीतिक इच्छाशक्तिको अभावका कारण बजारमा व्यापारीहरूको मनोमानी चलिरहेको छ ।
तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउन सकोस् । तिहारको उपलक्ष्यमा हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक तथा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना ।









Facebook Comments