देशान्तर विशेष संवाददाता

काठमाडौं । अप्रत्याशित रूपमा भएको जेनजी आन्दोलनमा भौतिक रूपमै आक्रमण व्यहोरेका मुलुकको सबभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वबाट आफूलाई अलग्याएर केही भए पनि सहानुभूति बटुलेपछि बसेको पार्टीको उपल्लो निकाय केन्द्रीय कार्यसमितिको बैठक हिजो शनिबार बसेपछि दीपावली, नेपाल संवत् र छठको कारण देखाउँदै लामो समयका लागि स्थगित भएको छ । यसलाई ५० प्रतिशतभन्दा बढी पार्टीको शक्तिशाली निकाय महाधिवेशन प्रतिनिधिहरूले मागेको ‘विशेष महाधिवेशन’ टार्न र बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले नाटकीय रूपमा बोलेको ‘नियमित महाधिवेशन’लाई चुनावपछि धकेल्ने कसरतका लागि यति लामो समय बैठक स्थगित गरिएको एक संस्थापनपक्षकै केन्द्रीय पदाधिकारीले देशान्तरलाई बताएका छन् । अर्कोतर्फ विशेष महाधिवेशन कुनै हालतमा गरेर छोड्ने र प्रस्ताव दर्ता भएकै दिनदेखि दिनगन्ती सुरु भइसकेको नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले बताएका छन् । 

ad

अहिले केन्द्रीय कार्यसमितिको बैठककमा मंसिरभित्रै नियमित महाधिवेशन गरेर पार्टीलाई गतिशील र एकजुट बनाउनुपर्ने आवाज बलियो हुँदै गएको छ । विशेष महाधिवेशनको मागको नेतृत्व संस्थापनइतर पक्षले गरिरहेको छ, जसले केन्द्रीय कार्यसमितिमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको विकल्प खुला रहेको प्रस्ट पारेको छ । यसको असरस्वरूप, लामो समयदेखि संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्यहरूले समेत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानलाई समर्थन गर्दै पार्टीमा जेनजी पुस्ताको ऊर्जालाई समेट्दै आगामी मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने मागलाई उठाएका छन् । नेपाली कांग्रेसको संस्थापन इतरपक्ष कुनै पनि हालतमा वर्तमान कार्यसमितिमा म्याद थप नगर्ने बरु विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने अडानमा कायमै रहेपछि अन्ततः संस्थापनपक्षका प्रभावशाली नेताहरूले पनि नियमित महाधिवेशनको विषयमा धारणा राखेका छन् । असोज २९ गते विशेष महाधिवेशनका लागि हस्ताक्षर दर्ता भइसकेकाले अहिले नियमितको कुरा गरेर यसलाई टार्ने सम्भावना रहेको भन्दै संस्थापनइतर पक्षले थप रणनीति तय गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिन्छ । 

संस्थापन पक्षकै नेताहरूले समेत मंसिरभित्र नियमित महाधिवेशनको पक्षमा उभिएपछि, महाधिवेशनको तयारी तत्काल अगाडि बढाएर पार्टीलाई एकजुट बनाउने र नयाँ ऊर्जासहित अगाडि बढ्ने दिशामा कांग्रेस अग्रसर भएको देखिन्छ । यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र युवा पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने अवसर प्रदान गर्नेछ ।

लामो समयदेखि सभापति शेरबहादुर देउवाको आडभरोसामा पार्टीमा हालीमुहाली चलाउँदै आएका कांग्रेसका संस्थापन पक्षका केही नेताहरू भने मंसिरमा महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएका छन् । यसले गर्दा संस्थापनपक्षभित्रै ध्रुवीकरण सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले समेत समयभित्र नै महाधिवेशन गर्नुपर्ने अभिव्यक्ति दिएको स्मरण गर्दै संस्थापन पक्षकै केही नेताहरूले देउवाको कुरालाई मध्यनजर गर्दै मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने जोडदार रूपमा उठाएपछि कांग्रेस संस्थापन पक्षका केही नेताबाहेक अरू मंसिरभित्रै महाधिवेशनको पक्षमा देखिएको स्पष्ट हुने कांग्रेसका एक नेताले देशान्तरलाई बताए ।  कांग्रेसका प्रभावशाली नेताहरूले कुनै पनि वहानामा महाधिवेशन सार्न नहुने भन्दै आगामी मंसिरभित्र १५औँ महाधिवेशनको मिति तोकिनुपर्ने माग केन्द्रीय कार्यसमितिको बैठकमा गरिरहेका छन् ।  

कांग्रेस महामन्त्री थापाले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने गरी प्रस्ताव गरेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ । फागुन २१ गते निर्वाचन घोषणा भइसकेको अवस्थामा मंसिरभित्र महाधिवेशन हुन नसक्ने कांग्रेसका संस्थापन पक्षका नेताहरूको तर्क गर्न थालेपछि महामन्त्री थापाले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने माग गरेका हुन् । मंसिरमा नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्नेमा महामन्त्री थापा पक्षका नेताहरूको जोड छ । विशेष महाधिवेशनको माग राख्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित गत बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा निवेदन दर्ता भइसकेको छ । कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउन २ वटा प्रक्रियामध्ये एटा केन्द्रीय कार्यसमिति आफैँले आवश्यकता ठानेर विशेष महाधिवेशन बोलाउन सक्नेछ भने अर्को ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग गरमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।  

महामन्त्री थापाले सार्वजनिक गरेको कार्यतालिकामा कात्तिक २१ गतेभित्र क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्यताको टुंगो लगाएर अधिवेशन सुरु गरिने उल्लेख छ । कात्तिक २१ गतेसम्म नयाँ र नवीकरण सदस्यता टुंग्याउने, कात्तिक मसान्तभित्र निर्वाचन समितिलाई सदस्यताको नामावली बुझाउने, मंसिर ५ मा देशभर एकैदिन वडा अधिवेशन, मंसिर ८ मा गाउँ÷नगर, उपमहानगर÷महानगरपालिकाको अधिवेशन गर्ने, मंसिर १२ मा प्रदेशसभा र क्षेत्रीय अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । त्यसैगरी मंसिर १५ मा प्रतिनिधिसभा क्षेत्रीय र त्यसैदिन विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन गर्ने, मंसिर १८ मा जिल्ला, मंसिर २१ मा प्रदेश अधिवेशन सम्पन्न गरेर मंसिर २७–२९ गतेसम्म केन्द्रीय अधिवेशन गर्ने थापाको प्रस्ताव छ ।