काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन सरकारलाई चुनौती दिएका छन्। 

एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले आफूलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाए । 

ad

अध्यक्ष ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नु पर्ने बताए।

ओलीले देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनर्स्थापनाको विकल्प नभएको बताए । भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना नभएको जिकिर गरे।

फागुन २१ गते निर्वाचनको मिति तोक्न, तर राजनीतिक दलहरूसँग संवाद नगरी निषेध र दमन गर्ने कामले तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनको भनाइ छ। 

अध्यक्ष ओलीले वर्तमान सरकारलाई संविधानले समेत नचिन्ने भन्दै अहिले क्रान्ति नभई प्रतिक्रान्ति भएकाले देश हिंसा र अराजकतामा धकेलिएको तर्क गरे।