
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले निजी आवास पुनर्निर्माण तथा पुनःस्थापनाका लागि रु २२ अर्ब २४ करोड आवश्यकता पर्ने अनुमान गरेको छ । समितिको आजको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेशप्रसाद भट्टराईले ८२ हजार ८०० घर निर्माण तथा पुनःस्थापनाको लागत अनुमान गरिएको जानकारी दिए ।
बैठकमा विपद् व्यवस्थापन कोषको रकम परिचालन गरी विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो । भूकम्पबाट क्षतिग्रस्तलाई रु २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्तलाई रु एक अर्ब तीन करोड, प्राविधिक सहयोगका लागि रु २८ करोड र जनशक्ति एकाइका लागि रु पाँच करोड आवश्यकता पर्ने बैठकमा औँल्याइएको छ ।
पुनर्निर्माणको वित्त व्यवस्थापन तथा निजी आवास पुनर्निर्माणका लागि प्राप्त रकममध्येबाट विपद् व्यवस्थापन कोषमा आर्थिक वर्ष २०८१/८२ मा आम्दानी बाँधिएको रु दुई अर्ब ८७ करोड ६४ लाख १४ हजार २५० रहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार सो रकम १० हजार ५०० परिवारका लागि छुट्याइएको छ ।
यसैबीच, अर्थ मन्त्रालयले १८ हजार ५०० परिवारका लागि रु पाँच अर्ब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । प्राधिकरणका अनुसार ५३ हजार ८०० घरका लागि रु १४ अर्ब ३४ करोड आवश्यक पर्दछ ।
समितिको बैठकले आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ पारित गरेको छ । यस्तै, विपद् जोखिम हस्तान्तरणका लागि विपद् बिमासम्बन्धी छलफल भएको थियो । बैठकले विपद् बिमासम्बन्धी सम्भाव्यता अध्ययन गरी प्रतिवदेन पेस गर्न प्राधिकरणका सहसचिवको संयोजकत्वमा छ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।








Facebook Comments