
काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको मनन गर्दै आवश्यकताको सिद्धान्तका आधारमा आवश्यक पहल लिएको स्पष्ट पारेको छ ।
नेपाली सेनाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले उक्त कुरा बताएका हुन् । उनले आन्दोलनबाट सिर्जना भएको अवस्थाका कारण ९ सय ७८ हातहतियार लुटिएको र लुटिएकामध्ये ५ सय ८६ हतियार मात्र बरामद र फिर्ता भएको बताए । १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका छन् ।
भदौ २४ गतेको तोडफोड र आगजनीमा सबैभन्दा धेरै ६ सय ८८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । जस अनुसार ३ सय ७ प्रहरी कार्यालय, २ सय ५९ निजी निवास, १ सय ९८ राजनीतिक दलका कार्यालय र १ सय २८ वटा व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको सेनाले जनाएको छ ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको पनि सेनाले जनाएको छ । कुल ७६ जनाको मृत्यु भएकोमा २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेको सेनाले बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई सेनाले रोकेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर आएकाहरूलाई हामीले रोक्यौं, उपरथी थापाले भने ।









Facebook Comments