काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत २८ वर्षका जवान उत्तम थापाको हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ९ का युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७ का सोनाम तामाङ भन्ने बुद्धिलाल थिङविरुद्ध कर्तव्य ज्यानसहितको कसुरमा मुद्दा दर्ता गरेको हो। 

ad

उनीहरुले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत जवान २८ वर्षका उत्तम थापाको हत्या गरेको आरोप छ। थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ २४ गते जवान थापा सादा पोसाकमा ड्युटीमा खटिएका थिए। 

जेनजी आन्दोलनकारीहरुले उनलाई प्रहरी कार्यालयको पछाडि लगेर क्रूर ढंगले आक्रमण गरी हत्या गरेका थिए। 

मृतकका काका ईश्वरसिंह थापाले आफ्नो भतिजको हत्या आरोपीको पहिचान गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। उनको जाहेरीका आधारमा अनुसन्धान गरेर प्रहरीले तत्काल दुईजनाविरुद्ध मुद्दा दायर गरेको हो।