
काठमाडौं । भाटभटेनी सुपरमार्केटले २३ र २४ भदौको घटनामा ११ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको दाबी गरेको छ । सुपरमार्केटले जाँचबुझका लागि गठन गरिएको आयोगमा उक्त दाबीसहित उजुरी दिएको हो ।
भाटभटेनीले दर्ता गरेको उजुरीमा देशभरका २० शाखामा क्षति पुगेको उल्लेख छ । तीमध्ये १२ स्टोर पूर्ण रूपमा जलेका र बाँकी आंशिक रूपमा नष्ट भएका बताइएको छ ।
कम्पनीका अनुसार ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीका सामान नष्ट भएका र ६ अर्ब ९६ करोड बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।
करिब ५० करोड रुपैयाँभन्दा बढीको सामग्री चोरी भएको र प्रयोगमा ल्याउन नसकिने गरी तोडफोड गरिएको दाबी गरिएको छ ।
कम्पनीका अनुसार सबैभन्दा बढी क्षति बालुवाटार (१ अर्ब १ करोड ९३ लाख ८९ हजार) र महाराजगन्ज (१ अर्ब ६ करोड ६० लाख) शाखामा पुगेको छ ।
त्यस्तै कोटेश्वरमा ९५ करोड ९२ लाख, बौद्धमा ८५ करोड ४२ लाख, दमकमाः ९१ करोड १९ लाख, विराटनगरमा ७५ करोड ७३ लाख, हेटौँडामा ७० करोड ४३ लाख, पोखरामा ६९ करोड ८४ लाख र धरानमा ५४ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण उजुरीमा समावेश छ ।
अन्य शाखामध्ये बालाजु, कलंकी, ठिमी, भैरहवा, बुटवल, इटहरी, वीरगन्ज, जनकपुर र धनगढीका स्टोरमा समेत आंशिक क्षति पुगेको कम्पनीले जनाएको छ ।
आयोगमा हालसम्म एक दर्जन उजुरी दर्ता भएका छन् ।








Facebook Comments