काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिएकी छिन् । सो क्रममा उनले सहकारी ठगहरूलाई कुनै हालतमा छाड्न नहुने बताइन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा आज भएको छलपलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारी सहभागी थिए । 

ad

‘ठगेर खानेलाई छाड्न मिल्दैन । ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ,’ कार्कीले भनिन्, ‘अहिले नै गर्नुपर्छ । हामीले नै गर्नुपर्छ ।’ 

यो सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारमा कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु रहेको उनले बताइन् । बरु कानुनमा समस्या भए त्यसलाई संशोधन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।