
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्व लागिपरेको आरोप लगाएका छन् । संसद् पुनर्स्थापनाको माग गरिरहेको नेकपा एमालेलाई लक्षित गर्दै गृहमन्त्री अर्यालले त्यस्ता तत्त्वलाई सम्झाइबुझाइ गर्नु आवश्यक रहेको बताए।
आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उनले केही राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोबल गिराउने काम गरको भन्दै मनोबल बढाउने काममा सरकारले काम गरिरहेको बताए। वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको र फागुन २१ मा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने उनले बताए ।
शान्ति, सद्भाव र सिङ्गो देशको राजनीति भत्काउन अपदस्थ भएकाहरू नै लागिपरेको टिप्पणी गर्दै गृहमन्त्री अर्यालले भने, ‘भक्तपुर शान्तपूर्ण जिल्ला हो, तर अपदस्त भएकाहरूकै कारण देशमा विद्रोह भएकाले तिनीहरूलाई यो ठाउँबाट नकराउन र देशको राजनीति धुल्मिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहन्छौँ ।’
उनले आन्दोलनका क्रममा सवारिसाधन जलेको र हतियार लुटिएकाले सरकारले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न लागेको र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए।




Facebook Comments