काठमाडौं । विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले अमेरिका, चीनलगायतका राजदूतहरूलाई फिर्ता बोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सरकारले साउदीअरब, कतार, इजरायल, रुस, जर्मनी, चीन, बेलायत, जापान र अमेरिकाका राजदूतहरूलाई फिर्ता बोलाएको हो ।

ad

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २०८१ मा विभिन्न ११ देशमा राजदूत सिफारिस गरेका थिए । ओलीभन्दा पहिलाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेका ११ जना राजदूतको नाम फिर्ता लिएर ओलीले नयाँ व्यक्तिलाई राजदूत सिफारिस गरेका थिए । 

सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका राजदूतलाई मात्रै फिर्ता बोलाएको छ । राजदूत नियुक्त गर्दा आधा कर्मचारी र आधा राजनीतिक कोटाबाट नियुक्त गर्ने प्रचलन छ । सोहीकारण परराष्ट्र मन्त्रालयका कर्मचारीको कोटाबाट नभई राजनीतिक कोटाबाट नियुक्त भएका राजदूत फिर्ता गरिएको हो ।

अघिल्लो सरकारले कांग्रेस र एमालेको भाग लगाएर राजदूत नियुक्त गरेको थियो । भारतका लागि राजदूत कांग्रेसको भागमा परेको थियो । 

अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्र घिमिरे र चीनका लागि कृष्णप्रसाद ओली एमालेको भागबाट नियुक्त भएका थिए । 

त्यसैगरी, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे एमालेको कोटाबाट र अस्ट्रेलियामा चित्रलेखा यादव भने कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए ।

त्यसैगरी, खाडी मुलुक साउदी अरबमा नरेश ढकाल, कतारमा रमेशचन्द्र पौडेल, इजरायलमा धनप्रसाद पण्डित, जर्मनीमा शाहिल रुपाखेती र स्पेनमा सनिल नेपाल कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका थिए । 

त्यसैगरी, रुसका लागि जंगबहादुर चौहान र मलेसियाका लागि नेत्र तिमिल्सिना एमालेको कोटाबाट राजदूत नियुक्त भएका थिए ।

खरेलका अनुसार २० कात्तिकभित्र फर्किसक्न निर्देशन राजदूतहरूलाई निर्देशन दिइएको छ ।