
काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलन क्रममा जनधनको क्षति भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्म पश्चाताप नगरेको बताएका छन्।
आज चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले त्यतिबेला कमजोरी गरेको भए पनि ओलीले अहिलेसम्म कुनै पश्चाताप नगरेको बताए ।
युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो, उनले भने।
संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए। उनले संसद पुनःस्थापनाको एजेन्डा गौण बनिसकेको पनि बताए।
उनले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने पनि बताए। समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।









Facebook Comments