
काठमाडौं: आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोट (क्वालिफायर) मा नेपालले उत्कृष्ट प्रदर्शन कायम राख्दै पाँचौँ जित निकालेको छ। बुधबार भएको रोमाञ्चक खेलमा घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। यो जितसँगै नेपाल प्रतियोगितामा अपराजित रहेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा १५१ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेल ले सानदार ब्याटिङ गर्दै सर्वाधिक ६९ रन बनाएका थिए। उनलाई आरिफ शेख ले २४ र अलराउन्डर गुल्सन झा ले महत्वपूर्ण १८ रन जोड्दै साथ दिएका थिए।
१५२ रनको लक्ष्य पछ्याएको ओमानले नेपाली बलरहरूको कसिलो प्रदर्शनका सामु टिक्न सकेन। २० ओभरमा ९ विकेट गुमाउँदै ओमान ११३ रनमा समेटिन पुग्यो।
नेपालको जितमा बलिङ मुख्य हतियार बन्यो। युवा अलराउन्डर गुल्सन झा ले घातक बलिङ गर्दै ३ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै, तीव्र गतिका बलर सोमपाल कामी र युवा स्पिनर नन्दन यादव ले २-२ विकेट लिएर ओमानको ब्याटिङ क्रम ध्वस्त पारे। अनुभवी लेग स्पिनर सन्दीप लामिछाने ले पनि १ विकेट लिँदै किफायती बलिङ गरे।
यो खेलअघि नै नेपाल र ओमान टी-२० विश्वकपका लागि छनोट भइसकेका थिए। तर, यो जितले सुपर सिक्स चरणमा नेपाललाई ठूलो फाइदा भएको छ। ५ खेलमा अपराजित रहँदै नेपालले ८ अंक सहित अंकतालिकाको शीर्षस्थानमा आफ्नो नाम लेखाएको छ। यसअघि ओमान शीर्षस्थानमा थियो।
नेपालले अब आफ्नो अपराजित यात्रालाई कायम राख्दै प्रतियोगिताको अन्तिम खेल शुक्रबार सामोआविरुद्ध खेल्नेछ।








Facebook Comments