
काठमाडौं । सीमामा तनाव बढिरहेपछि पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराम गर्न सहमत भएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ भने तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, आज साँझ ६ बजेदेखि युद्धविराम लागू भएको हो । तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताको लागि अनुरोध गरेको छ । दुवै देशले एक अर्काको अनुरोधमा युद्धविराम लागू भइरहेको दाबी गरेका छन् ।
यसअघि बुधबार, पाकिस्तानले धेरै अफगान चौकीहरू ध्वस्त पारेको दाबी गरेको थियो । पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले एक विज्ञप्ति जारी गर्दै अफगान तालिबानले गरेको आक्रमणको बदला लिने कारबाहीमा १५–२० आक्रमणकारी मारिएको दाबी गरेको छ ।
यसअघि अफगानिस्तानले गरेको आक्रमणमा ठूलो संख्यामा पाकिस्तानी सेना हताहत भएको बताइएको थियो ।









Facebook Comments