
काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो। बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरी उनलाई सोमबार अभियोगपत्रसाथ प्रहरीले एकैपटक अदालतमा बुझाएको थियो।
०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप)मा सुन ल्याएको पाइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए।
भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबुछोराको मिलेमतो देखिएको प्रहरीले जनाएको छ। यो प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ।
चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा छ। उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो।









Facebook Comments