
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जना सदस्यले धारणा राखेका छन् ।
बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका हुन् ।
यसपटकको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रमअनुसार अर्थात् ‘ज्ञ’बाट ‘क’ सम्मका सदस्यहरूलाई पालैपालो धारणा राख्ने निर्णय सुनाएका थिए ।
एमालेमा अघिल्ला बैठकहरूमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने प्रचलन थियो । तर, यसपटक फरक प्रस्ताव आउँदा बुधबार केहीबेर हल्लाखल्ला भएको थियो ।
महासचिव पोखरेलको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएका थिए । उनको विरोधमा अरू केही केन्द्रीय सदस्यहरूले पनि समर्थन जनाए । तथापि, बैठकमा उल्टो वर्णानुक्रम अनुसार नै सदस्यहरूलाई समय दिँदै बोल्न दिइयो ।
केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३–३ मिनेटको समय दिइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार बिहान ८ बजेदेखि पुनः सुचारु हुनेछ ।









Facebook Comments