
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका माग गर्दै देशभरबाट संकलित महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज बुझाएका छन् ।
मङ्सिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति हुन नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन बुझाइएको बताइएको छ । कांग्रेस नेता गुरूराज घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाएको बताए ।
कांग्रेसको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । देशभरका झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेको कांग्रेसको एक नेताले बताए ।









Facebook Comments