
काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको हुकुमी शैली देखाउँदै पार्टी विधानलाई समेत उल्लंघन गर्दै अगाडि बढेको भन्दै राप्रपाका महामन्त्रीद्वय धवलशम्सेर राणा, कुन्ती शाहीले बुधबार बोलाइएको कार्यसम्पादन समितिको बैठक बहिस्कार गर्ने भएका छन् ।
उनीहरुले अध्यक्ष लिङ्देनलाई पत्र लेखेर महाधिवेशनको वातावरण नबनाएकाले बैठक बहिस्कार गरेका हुन् । पत्रमा विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने, विधानविपरित भएका निष्कासन र कारबाही सम्बन्धी निर्णयहरू फिर्ता गर्ने, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने र प्रभावकारी पार्टी सञ्चालनका निम्ति दुई पूर्वअध्यक्षहरू सहितको विवाद समाधान समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।
केन्द्रीय समितिमा सल्लाह र जानकारी समेत नदिई अध्यक्षबाट केन्द्रीय सदस्य थप्दै जाँदा जाने कार्य भएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । विधिको सम्मान गर्न सचेत गराउने र हर प्रकारको सहयोग गर्न तयार रहँदा समेत पार्टीमा अध्यक्षबाहेक अरु कसैको अस्तित्व नरहने स्थिति निर्माण गरिएको पत्रमा उल्लेख छ ।
पार्टी स्थापनाकालदेखि काम गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई फेसबुकमा सुचना दिएर विधानको प्रावधान खुल्लमखुल्ला उल्लंघन गर्दै बेइज्जतीपूर्ण तरिकाले निष्कासन गरिएको समेत पत्रमा उल्लेख छ ।









Facebook Comments