काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन् २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ।

आईएमएफले आज ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा तीन दशमलव सात प्रतिशत रहेको थियो। यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर चार दशमलव तीन प्रतिशत पुग्ने आइएमएफले अनुमान गरेको छ।

ad

यस्तै नेपालले सन् २०२६ मा पाँच दशमलव दुई र सन् २०३० मा पाँच प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ। नेपालको मूल्यवृद्धि सन् २०२५ मा चार दशमलव एक र २०२६ मा चार दशमलव दुई प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ।

आईएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ। सन् २०२४ मा तीन दशमलव तीन प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा तीन दशमलव दुई र २०२६ मा तीन दशमलव एक प्रतिशत रहने अनुमान गरिएको हो।