काठमाडौं । मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भयो । जुन हालसम्मकै उच्च हो ।नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य विश्वभर नै आर्थिक अन्योल बढेर जाँदा नेपालमा पनि त्यसको प्रभाव परेको बताउँछन् । आर्थिक अन्योलका कारण लगानी गर्ने क्षेत्र खुम्चिँदा सुनमा लगानी गर्ने बढेको उनको भनाइ छ ।

ad

'भूराजनीतिक तनाव, अमेरिकी डलर, विश्व सेयर बजारको घट्दो क्रम र ब्याजदरका कारणले सुनचाँदीको मूल्य लगातार बढिरहेको हो,' शाक्यले भने, 'अन्तर्राष्ट्रियरूपमा नै सुनचाँदीको मूल्य बढ्दै गएको छ । सुनको मूल्य अझै बढ्दै जान्छ, नेपालीले किन्न नसक्ने स्थिति हुन सक्छ ।'

पछिल्लो एक वर्षमा सुनको मूल्य एक लाखभन्दा बढीले बढेको छ । नेपालमा लगाइएको विलासिता करदेखि विश्व बजारमा बढ्दै गएको मागका कारण सुनका मूल्य आकाशिएको हो । गत वर्ष ०८१ असोजमा नेपाली बजारमा सुनको मूल्य साढे एक लाख रुपैयाँ आसपास थियो । तर, अहिले सुनको मूल्य बढेर साढे दुई लाख पुगेको छ ।

नेपाली रुपैयाँसँग डलरको मूल्य अवमूल्यन (मुद्राको महँगी) हुँदै गएको छ । नेपालीले सुन किन्न विदेशमा बढी डलर आवश्यक पर्छ ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनिमय दर र व्यवसायीको नाफा जोडेर तय गरिन्छ ।

पहिलेदेखि नै सुरक्षित लगानीका रूपमा मानिएको हुँदा सुनले लाभ उठाइरहेको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । नेपालमा सुन आयातको कोटा सिस्टमले बजारको माग धान्न नसकेको उनको भनाइ छ ।

नेपाली बजारमा सुनको मूल्य बढ्दै गए पनि काँचो सुन किन्नेको उत्साह बढेको उनी बताउँछन् । पुराना गरगहना बेच्ने भने बजारमा नआएको उनको भनाइ छ ।

'काँचो सुन किन्नेहरू त बढ्दै गएका छन् । तर, पुरानो गरगहना बेच्ने छैनन् । उनीहरूमा अझै सुनको मूल्य बढ्दै जाने मनोभावले गर्दा पनि सुन स्टक गरेर राखेको हुन सक्छ,' उनले भने, 'दुई लाख पुग्दा बेच्न आउने धेरै थिए । अहिले त्यस्तो छैन ।'

व्यवसायीलाई दैनिक ३० देखि ४० किलोग्राम (केजी) सुन आवश्यक छ । तर, अहिले वाणिज्य बैंकले दैनिक २५ केजी सुन आयात गरेर व्यवसायीलाई दिने गरेका छन् । 

यो कोटा सिस्टम हटाउन व्यवसायीले माग गर्दै आएका छन् । उनीहरूले राष्ट्र बैंकलाई पनि यही सुझाव दिएका थिए । सुनको कोटा सिस्टम हटाएर आवश्यकता अनुसार आयात गर्न दिनुपर्ने उनीहरूको माग छ । यसले बजारमा कालोबजारी रोकिने शाक्यको भनाइ छ ।