
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा अन्तरिम सरकार गठन भएर प्रतिनिधिसभा निर्वाचनको मिति तोकिए पनि चुनावका लागि आवश्यक वातावरण बन्न नसकेको बताएका छन् ।
आज बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई लिखित सम्बोधन गर्दै सभापति देउवाले निर्वाचन गर्ने मिति तोकिएको भए पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताएका हुन् ।
उनले भने–निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोवल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतःस्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो ।
उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्ष स्मरण गर्दै आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने पनि बताए । उनले कांग्रेसले आफूलाई एकताबद्ध, सुसंगठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिक दलहरुसँगसमेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको समेत बताए ।
उनले मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली कांग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसाथ गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढनुपर्ने पनि बताए ।









Facebook Comments