काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) १६ जना नेताले पार्टीबाट अलग भएर नयाँ कम्युनिस्ट अभियान सुरु गर्ने घोषणा गरेका छन् ।

हालको राजनीतिक परिस्थिति र जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक सन्दर्भलाई उदृत गर्दै पार्टीका पोलिटब्युरो सदस्य पलबहादुर रावत (संगम), पूर्ण रसाइली (रक्तिम), हरिस दयाल (अर्जुन) र किरण जोशी (वासुदेव) लगायतका नेताले संयुक्त रूपमा जारी गरेको प्रेस वक्तव्यमा ‘नेकपा (बहुमत)’बाट स्वतन्त्र भई नयाँ अभियान सुरु गरिएको जानकारी गराएका हुन् ।

ad

पोलिटब्युरो सदस्यसँगै केन्द्रीय सदस्य सुरेन्द्र कार्की (नरेश), माधव घिमिरे, दर्शन नेपाली, हरि श्रेष्ठ (जोतारो), शरद रसाइली, बद्री अधिकारी (अनवरत), आशिष चौधरी, रेखा चौहान, अर्जुन मण्डल, राजीव तामाङ, पार्वती सिंह र नेत्र रानाभाटले पनि वक्तव्यमा समर्थन जनाएका छन् ।

उनीहरुले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जेनजी आन्दोलनले नेपालको राजनीतिक वृत्तमा नयाँ धरातल निर्माण गरेको छ । जनचाहना अनुसार परिणाम नदिई सत्तामा झुन्डिने र जनतालाई लुट्ने ठग गलहत्याइएका छन्, यो नेपालको राजनीतिका लागि ठूलो शिक्षा हो।’

वक्तव्यले नेपालको कम्युनिस्ट आन्दोलन फुट, सत्ता–लोभ, स्वेच्छाचारिता, अहंकार र भ्रष्ट प्रवृत्तिबाट ग्रसित भएको उल्लेख गर्दै अब समाजवादी आन्दोलनलाई पुनर्गठनसहित नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

‘कम्युनिस्ट नामका दर्जनौँ समूह हुँदा पनि जनतालाई संकटका बेला भरोसा दिने नेतृत्व बन्न नसकेको स्पष्ट भइसकेको छ’ वक्तव्यमा भनिएको छ, ‘अब वास्तविक र व्यापक रूपान्तरण र पुनर्गठन अपरिहार्य बनेको छ ।’

घोषणापत्रमा पद, प्रतिष्ठा, गुटगत र आर्थिक स्वार्थबाट मुक्त, श्रमजीवी जनताको भरोसायोग्य समाजवादी आन्दोलनको निर्माण गर्न सबै इमानदार कम्युनिस्ट, शुभचिन्तक र क्रान्तिकारीहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।