लामो समयको विवादपछि जनमत पार्टी औपचारिक रूपमा विभाजनको बाटोमा लागेको छ । जनमत पार्टीका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सूर्यनारायण यादवलाई कारबाही गरेपछि जनमत विभाजनको लागि औपचारिक प्रयास सुरु भएको थियो । त्यो प्रयास अहिले सफल भएको जनमतका नेताहरूले बताएका छन् ।

साहको नेतृत्वमा नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढेको छ । असन्तुष्ट पक्षका नेताहरूले दिएको जानकारीअनुसार जनमतलाई विभाजित गरी साहको समूहले जनस्वराज पार्टी दर्ता गर्न लागेका छन् । उनीहरूले उक्त पार्टीको नामसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । 

ad

साहले पार्टीको ४० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याएर पार्टी विभाजन गर्न लागेको बताएको छ । जनमतमा रहेका ५२ जना कार्यकारिणी समितिमा साहको पक्षमा १५ जना लागेको बताइएको छ । यद्यपि उनीहरूको नाम भने सार्वजनिक भएको छैन । खासगरी संघीय सरकारमा मन्त्रीहरू हेरफेर गर्ने कुरा र मधेशमा मुख्यमन्त्री फेर्ने कुरामा असन्तुष्टि बढेको थियो ।

संसदीय दलका नेता महेश यादवलाई मुख्यमन्त्री नबनाई सांसद सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि बढेको थियो । अहिले तिनै सिंह पनि असन्तुष्ट रहेका छन् । केही दिनअघिमात्रै सिंहले आउँदो चुनावमा अध्यक्ष सीके राउतसँग चुनाव लड्ने बताएका थिए । राउतले सिंहलाई फिर्ता बोलाउन र कारबाही गर्ने प्रयास गरेका थिए ।

त्यसो त, पहिला पनि महामन्त्री चन्दन सिंह असन्तुष्ट थिए ।  साहलाई आर्थिक अनियमितताको आरोप लगाएर राउतले कारबाही गरेका थिए । साहले पनि आफ्नो पैसाले राउतको घर किनेकोलगायतका अनेक आरोप लगाएका थिए ।