काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको लगायतको आरोप प्रमाणित गर्न चुनौति दिएको छ ।

केही सञ्चार माध्यमहरुमा जेन–जी आन्दोलनभन्दा अघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालेर लगिएको वक्तव्यहरु आएका थिए । सोही वक्तव्यको खण्डन गर्दैै प्रचण्डको सचिवालयले आरोप प्रमाणित गर्न चुनौति दिएको हो । प्रचण्डको सचिवालयका तर्फबाट गोविन्द आचार्यले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– हाम्रो संविधानको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी प्रावधान, यससँग सम्वन्धित कानून र पत्रकार आचारसंहिता अनुसार कुनै पनि सामग्री प्रवाह गर्दा अरूमाथि गालीगलौज, चरित्रहत्या र मानहानी गर्न बन्देज गरिएको छ।

ad

त्यसैगरी कुनै पनि सञ्चार माध्यममा समाचार प्रवाह गर्दा सूचनाको सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण सुनिश्चित गर्नु प्रत्येक सञ्चारकर्मीको न्यूनतम दायित्व हो। तर हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा ती सबै कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ । जुन गम्भीर तथा आपत्तिजनक छ।