काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल माओवादीसँगको एकता स्वीकार्य नभएको बताएका छन् ।  

जेन–जी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएपछि उनको उपचारको क्रममा हाल भारतमा रहेका खनालले एक विज्ञप्ति जारी गर्दै यो पार्टी एकीकरण गर्ने मौसम होइन र छैन भनेका छन् । ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँ । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’ पार्टी बैठक चलिरहेका बेला खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् ।

ad

 

उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।

 

‘हरेक सानाठूला पार्टीहरूमा र खुद जेनजी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग हो’ भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन् ।