काठमाडौं । अप्रत्याशित र अकल्पनीय जेनजी आन्दोलनबाट मुलुकको राजनीतिक कोर्स नै बदलिएपछि बस्न लागेको बहुप्रतीक्षित नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा नियमित महाधिवेशनको पक्षमा चर्को आवाज उठ्ने बताइएको छ, हिजो शनिबार बसेको पदाधिकारी बैठकले पनि एजेन्डा टुंग्याउन नसकेपछि आजका लागि तय भएको बैठक दुई दिनपछि २८ गतेसम्मलाई सारिएको छ । पदाधिकारी बैठकमा नियमित महाधिवेशनमा एक मत हुन नसकेपिछि केन्द्रिय समिति बैठक सारिएको कांग्रेस प्रवक्त प्रकाशसशरण महतले जानकारी दिएका छन् । केन्द्रीय समितिको बैठकअगाडि औपचारिक र अनौपचारिक रूपमा बैठक बसेर महाधिवेशनबारे साझा धारणा बनाउने र सोहीअनुसार मंगलबारबाट सुरु हुने केन्द्रीय समितिमा प्रस्ताव पेस गर्ने उनले बताए । संस्थापन पक्षले महाधिवेशनलाई टार्ने सम्भावना देखेर नै देशभरबाट विशेष महाधिवेशनको पक्षमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिसकेको छ । संस्थापनइतर एक स्वरमा मंसिर मसान्तभित्रै विधानले तोकेबमोजिम नियमित महाधिवेशनको पक्षमा एक ढिक्का देखिएको छ । सुरुमा युवापुस्ताको नेतृत्व गर्ने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रस्ताव बैठकमा लाने तयारी गरे पनि इतरपक्षका अर्का प्रभावशाली नेता डा. शेखर कोइरालाले नियमित महाधिवेशन नै गर्नुपर्ने, यदि संस्थापन पक्षले पेलेर त्यसको विपक्षमा निर्णय गर्न खोजेमा मात्र विकल्पको रूपमा विशेष महाधिवेशनको माग गर्ने कुरामा सहमति जनाएपछि अहिले इतरपक्ष एकमतका साथ नियमित महाधिवेशनको पक्षमा उभिएको नेताहरूले देशान्तरलाई बताएका छन् । 

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरे पनि नियमित महाधिवेशनको समय घर्किनसकेकाले अधिकांश नेताहरू नियमित महाधिवेशनमा नै सहमत देखिएको बुझिएको छ । केन्द्रीय कार्यसमितिको बैठकअघि बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा नियमित अधिवेशन गर्ने विषयमा मोटामोटी सहमति भएको एक नेताले देशान्तरलाई जानकारी दिए । यसअघि केन्द्रीय समितिको बैठकबाट १ वर्षका लागि केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने पक्कापक्की जस्तै भएकोमा भदौ २३–२४को जेनजी आन्दोलनपछि नेपाली राजनीतिक अवस्था परिवर्तन भएको छ । पुरानै नेतृत्वबाट अब पार्टी चल्न नसक्ने भन्दै यसअघिदेखि नै देउवाको विकल्प खोज्नेहरूको बोलीमा बल पुगेको छ । फलस्वरूप अहिले नियमित महाधिवेशन  गर्न नसकेमा विशेष अधिवेशन गरेर भए पनि सरकारले तोकेको फागुन २१ को चुनावमा पार्टी सहभागी हुनुपर्ने आवाज उठेको थियो । देउवाकै नेतृत्वमा पार्टी चुनावमा जाँदा नतिजा सकारात्मक नहुने भएकाले नेतृत्व परिवर्तनका लागि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियान सुरु गरेका थिए । १४औँ महाधिवेशनमा ४८४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा २५५० बढी प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरिसकेको एक केन्द्रीय सदस्यले देशान्तरलाई जानकारी दिए । कांग्रेसको आगामी केन्द्रीय समितिको बैठकमा नियमित महाधिवेशन मंसिरभित्र गर्ने विषयमा घनीभूत छलफल हुने उनले बताए । 

ad

यसअघि ३ दिनसम्म बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा महामन्त्री गगन थापाले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए । विशेष महाधिवेशन गर्दा पुरानै महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्ने भएकाले पार्टी रूपान्तरण हुन नसक्ने भएकाले कांग्रेसका नेताहरू नियमित महाधिवेशनकै पक्षमा सहमत देखिएका हुन् ।  

जेनजी आन्दोलनपछि विकसित राजनीतिक अवस्थामा पनि संस्थापन पक्षले नियमित महाधिवेशन गर्ने तदारुकता नदेखाएपछि विशेष महाधिवेशन माग्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देशभरि नै हस्ताक्षर अभियान सुरु गरेका थिए । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेमा सभापतिले ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको छ । 

अर्का नेता शेखर कोइरालाले भने स्पष्ट रूपमा मुख नखोलेका कारण उनीनिकटका महाधिवेशन प्रतिनिधिहरूले भने विशेष केहीले महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् भने केहीले हस्ताक्षर गरेका छैनन् । कोइराला नियमित महाधिवेशनको पक्षमा रहेका छन् ।

यसैगरी, पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि  तत्काल कार्यवाहक तोकेर पार्टीलाई अघि बढाउन सभापति देउवालाई आग्रह गरेका छन् । उनले सरकारले तोकेको चुनावमा जानुपर्ने बताउँदै लोकतान्त्रिक पार्टी भएकाले चुनावमा भाग नलिने कुरा नहुने उल्लेख गरे । संसद् पुनःस्थापनाको कुरा कानुनी भन्दै समस्या समाधानको लागि चुनाव नै चाहिने र चुनावमा जाँदा पार्टीले नियमित अधिवेशन गर्न नसकिने भए कार्यवाहक तोकेर अघि बढ्नुपर्नेमा जोड दिए । 

यसैगरी, महामन्त्रीद्वय थापा र शर्मा पनि पछिल्लोपटक आगामी मंसिरमा नै नियमित महाधिवेशनको पक्षमा देखिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत हस्ताक्षरबाट विशेष महाधिवेशन माग गर्दा पनि मंसिर–पुसमा हुने र नियमित महाधिवेशन गर्दा मंसिरभित्रै गर्नुपर्ने २ विकल्पमध्ये जे गरे पनि एउटै समयमा पर्ने भएकाले कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा तथा नेता डा. कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको प्रस्ताव गरेको कांग्रेसका एक नेताले बताए । तर, सभापति शेरबहादुर देउवा मंसिरमा नियमित महाधिवेशनको पक्षमा तयार नभए विशेष महाधिवेशन माग गर्ने योजनामा महामन्त्रीद्वय रहेको कांग्रेसनिकट उच्चस्रोतले जानकारी दिएको छ । 

अझै पनि कांग्रेस संस्थापन पक्षका केहीले मंसिरमा नियमित महाधिवेशन गर्न समय अभाव हुने कुरा राख्दै आएका छन् । सामान्य अवस्थामा महाधिवेशनका लागि ६ महिना लाग्ने गरे पनि विशेष परिस्थितिमा २ महिनाभित्र गर्न सकिने कांग्रेस संस्थापनइतरका नेताहरूको भनाइ छ । राजाको प्रत्यक्ष शासनकालको समयमा कांग्रेसको ११औँ महाधिवेशन साँढे २ महिनाभन्दा कम समयमै भएको उदाहरण एक नेताले देशान्तरसमक्ष प्रस्तुत गरे । 

विषम परिस्थितिमा २ महिनाभित्र महाधिवेशन गर्न सकिने देखिन्छ । नियमित महाधिवेशनका लागि सबैभन्दा पहिला क्रियाशील सदस्यता टुंग्याउनुपर्ने भएकाले कांग्रेसमा हाल नवीकरणको काम धमाधम भइरहेको छ । अहिलेको विशेष परिस्थितिमा विधानका केही प्रक्रिया निलम्बन गरेर भए पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने विकल्प रहेको छ । हाल कायम रहेका क्रियाशील सदस्यहरूबाट वडा अधिवेशन गराई क्षेत्रीय प्रतिनिधि चयन गर्ने र उनीहरूबाट महाधिवेशन प्रतिनिधि चयन गरेर महाधिवेशनमा जान सकिने एक कांग्रेस नेताले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक गाउँ, नगर र जिल्ला महाधिवेशन पछि गरे पनि हुने तर्क बलियो बन्दै गएको छ ।