
काठमाडौं । राणा–कुँवरहरूको कुलायन संस्था श्री जगनन्द प्रकाशेश्वर तथा पाञ्चायन संरक्षण समितिले विजया दशमी तथा शुभ दीपावली २०८२ को अवसरमा शुभकामना आदानप्रदान, स्मारिक विमोचन एवं कुलदीपहरूको अभिनन्दन एक समारोहबीच हिजो शनिबार सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा स्मारिका विमोचन गर्नुका साथै ११ जना कुलदीपहरूको अभिनन्दन गरिएको थियो । जसमा महान् नाटककार/ साहित्यकार बालकृष्ण समलाई मरणोपरान्त, ज्येष्ठ कुलबन्धु कोमलविक्रम राणा, दीर्घजीवी छोरी राजेश्वरी राणा थापा, पूर्वमन्त्री शेरबहादुर कुँवर, हिन्दू धर्मसंस्कृति अभियन्ता महेशशमसेर राणा, कार्यकारी प्रमुख अधिकृत चिन्तनविक्रम राणा, नायव कार्यकारी प्रमुख अधिकृत बबीसिंह गड्तौला, पहिलो नर्स मनहजुर राणा, किड्नी रोग विशेषज्ञ अर्चनशमसेर जबरा, क्रिकेट खेलाडी सविता कुँवर, नवोदित व्यवसायी भरतजंग कुँवरलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा सभापति आदर्शविक्रम राणा, मुख्य व्यवस्थापक दिवाकर राणा, प्रधानसम्पादक महेशविक्रम कुँवर, संयोजक सहप्राध्यापक तिलकबहादुर कुँवरले आ–आफ्नो मन्तव्य दिएका थिए । त्यसैगरी अभिनन्दितको तर्फबाट कोमलविक्रम राणाका छोरा वरिष्ठ पत्रकार कबिर राणा, महेशशमसेर राणा, शेरबहादुर कुँवर, चिन्तनविक्रम राणालगायतले अभिनन्दित हुन पाएकोमा संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए । स्मारिकामा विभिन्न लेखसहित अभिनन्दितहरूको विचार प्रकाशित गरिएको छ ।









Facebook Comments