काठमाडौं । ‘एकपटकको नेपाली सधैँको नेपाली’ मूल उद्देश्यका साथ २२ वर्षअगाडि स्थापना भएको गैरआवासीय नेपाली संघ एनआरएनए गत वैशाखदेखि औपचारिक रूपमा दुईवटा छन् । दशौँ अधिवेशनदेखि सुरु भएको विवाद निरुपण गर्नका लागि सर्वोच्च अदालतले परमादेश दिएपछि पनि मिल्न नसकेका अवस्थामा शेष घलेले गराएको अधिवेशनबाट महेशकुमार श्रेष्ठ अध्यक्ष बनेका छन् भने ११औँ अधिवेशनबाट निर्वाचित बद्री केसीको कार्यकाल पूरा हुने सँघारमा छ । राजनीतिक उथलपुथल नभएको भए हिजो शनिबारदेखि काठमाडौंमा अधिवेशन सुरु हुने थियो ।

तर जेनजीको आन्दोलनपछि अधिवेशन ३ महिनालाई स्थगित भएको छ भने एकताको प्रयास पनि तीव्र भएको एनआरएन अभियन्ताहरूले बताएका छन् । श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई केसी नेतृत्वले स्वागत गर्ने गरी वार्ताहरू भइरहे पनि अझै सहमति भने जुट्न सकेको छैन । घलेकै समूहबाट अधिवेशनमा महासचिव भएका बाबुराम लामाले एकताको पक्षमा आफू रहेको भन्दै पटक–पटक सामाजिक सञ्जालमा लेख्दै आएका छन् भने केसी पक्षका महासचिव गौरीराज जोशीले सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् । फलस्वरूप पछिल्ला दिनमा घनीभूत छलफल भएर सहमति नजिक पुगेका बेला घलेले आफू अनुकूल नहुने भएपछि सहमतिको वातावरण भाँडेको भन्दै जोशीले एकताको बाधक घले रहेको टिप्पणी गरेका छन् ।

ad

केसी पक्षले अधिवेशनका लागि मिति तोकेर डेलिगेट्स बनाउन सुरु गरे पनि अधिकांश एनसीसीले सदस्यता शुल्क नै नपठाउने घोषणा गरेपछि बाध्य भएर केसी पक्षले पनि एकताको पहल गरेको हो । १५ दिनदेखि भएका वार्ताअनुसार शुक्रबार राति सहमतिनजिक पुगेको र शनिबार दिउँसो एकताको घोषणा गर्ने भनिएको थियो । तर, पूर्वअध्यक्षसमेत रहेका घले एकताको बाधक बनेपछि उनी पक्षका एनआरएन अभियन्ताहरूले आन्तरिक बैठकमा बखेडा झिकेको बुझिएको छ ।

एकताको घोषणा नभए पनि केसी र श्रेष्ठ दुवै पक्षले छुट्टाछुट्टै एनआरएन डे (अक्टोबर ११) मनाएका छन् । शनिबार बिहान केसी पक्षले स्वयम्भूमा कार्यक्रम आयोजना गरेको थियो भने पशुपति दर्शन र दिउँसो संघको सचिवालयमा पत्रकार सम्मेलन गरेर समसामयिक विषयमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष केसीले वार्ता जारी रहेको र केही दिनमै सकारात्मक सन्देश प्रवाह हुने बताए । उनले सबैलाई मिलाएर एकताबद्ध एनआरएनए बनाउने आफ्नो प्रस्ट उद्देश्य भएको बताउँदै त्यसका लागि लचकता अपनाउने बताए ।

उता, अर्का अध्यक्ष श्रेष्ठले अक्टोबर ११ मै सहमति गर्दै एकता गर्ने अभियानमा आफू रहे पनि केही प्राविधिक कुराहरू बाँकी रहेकाले केही दिनमा हुन सक्ने बताए । उनी नेतृत्वको कार्यसमितिले पनि एनआरएन डेको अवसरमा स्वयम्भूमा दीप प्रज्वलन गरेको थियो भने बग्गीखानास्थित ट्राफिक कन्ट्रोलरुमको पुननिर्माण भइरहेको स्थलको अनुगमन र बेलुका पशुपतिमा आरतीमा सहभागी भएको थियो । अध्यक्ष श्रेष्ठले वार्ताको चरणमै रहेको र सहमति नजिक पुगेको बताएका छन् । त्यसका लागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए । अध्यक्ष श्रेष्ठले गत भदौ २३–२४ को जेनजी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउँदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।