सन् २०२३ अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि अहिलेसम्म नौ हजार ५०० व्यक्तिहरूको अवस्था अज्ञात रहेको गाजास्थित नागरिक सुरक्षा निकायले शनिबार जानकारी गराएको छ ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले एक विज्ञप्ति जारी गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरेर उनीहरूको भाग्य निर्धारण गर्न आग्रह गरेका छन् । 

ad

'इजरायल र हमासबीच शुक्रबारदेखि युद्धविराम सम्झौता लागू भएदेखि नागरिक सुरक्षा कर्मचारीहरूले १५० भन्दा बढी शवहरू फेला पारेका छन् र सीमित उपकरणका कारण खोजी कार्यमा चुनौतीहरूको सामना गरिरहेका छन्,' बसालले भने ।

गाजास्थित प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमले गाजामा करिब ३० हजार आवास एकाइहरू ध्वस्त भएको र ९० प्रतिशतभन्दा बढी नागरिक पूर्वाधारहरू प्रभावित भएको जनाएको छ । यसले गाजा क्षेत्रमा लगाइएको नाकाबन्दी तत्काल हटाउन र मानवीय कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेको छ ।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार अबेर टेलिफोन वार्ता गरेका र दुवैले इजिप्टको रेड सीको सामुद्रिक शहर शर्म अल शेखमा हुने शिखर सम्मेलनको विस्तृत व्यवस्थाबारे छलफल गरेका थिए ।

सम्मेलनको सह–आयोजक इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले गर्नेछन् । 

इजिप्टको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अब्देलाट्टी र रुबियोले शिखर सम्मेलनमा विश्वव्यापी सहभागिताका साथै गाजा युद्धविराम सम्झौताको पहिलो चरणको कार्यान्वयनको व्यवस्थाबारे पनि छलफल गरेका थिए ।'