काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन सारिएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको तीन दिनदेखि जारी बैठकले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न नसकेपछि बैठक सारिएको हो ।

मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयलाई लिएर पार्टीभित्र तीव्र विवाद सिर्जना भएको छ । संस्थापनइतरपक्षले नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनको प्रक्रियाअघि बढाउने भनिरहेको छ । 

ad

विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षरको कडा विरोध गर्दै आएको संस्थापनपक्षले मंसिरभित्रै नियमित महाधिवेशन गर्न पनि व्यवहारिक कठिनाइ हुने जनाउँदै आएको छ ।

यता संस्थापनइतरपक्षका युवा नेताहरुले ५० प्रतिशत हस्ताक्षर पुर्‍याइसकेको दाबी गरेका छन् । हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेका अनुसार केन्द्रीय कार्यसमितिको बैठक अगाडि कारणसहित विशेष महाधिवेशनका लागि निवेदन दिने तयारी छ । 

‘केन्द्रीय कार्यसमितिले मंसिरभित्रै नियमित महाधिवेशन गर्ने विश्वसनीय एजेन्डासहित तिथिमिति तोकेर निर्णय लिएमा विचार गर्न सकिन्छ तर महाधिवेशन हुने सुनिश्चितता हुनुपर्छ । त्यस्तो कार्यतालिकासहित निर्णय आएमा के गर्ने भन्नेबारेमा अहिले हामी छलफलमै छौं । केन्द्रीय कार्यसमितिले निर्णय लिए पनि विशेष महाधिवेशनका लागि निवेदन दर्ता हुन पनि सक्छ,’ घिमिरेले भने,‘केन्द्रीय कार्यसमितिको बैठक सरेपछि आइतबार नै दर्ता गर्ने वा सोमबार भन्ने विषयमा विचार गर्दैछौं ।’