
नेकपा (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार मध्याह्नबाट झन्डै साढे ६ घन्टा चलेको बैठकमा धारणा राख्ने क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षले राजीनामा दिनुपर्ने धारणा राखेको एक नेताले बताए।
‘युवाहरूको आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्न केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै ती नेताले भने।
भोलिसम्म चल्ने सचिवालयको ५८ औं बैठकमा सदस्यहरूले धारणा राखिरहेका छन्।
आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका छन्।
आजको बैठकमा अष्टलक्ष्मी शाक्यबाहेक अरू कसैले ओलीको राजीनामा मागेका छैनन्। तर पार्टी पुनर्गठनको पक्षमा भने घनिभूत आवाज उठाएका छन्।
‘अब यथास्थितिबाट पार्टी चल्दैन। आम रूपमा पुनर्गठन हुनुपर्छ। नेतृत्वको पनि पुनर्गठन हुनुपर्छ भन्ने नै सदस्यहरूको धारणा रहेको छ,’ ती नेताले भने।









Facebook Comments