राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निकटका नेता दीपक बोहराले सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई रास्वपा सभापति बनाउने र काठमाण्डुका मेयर बालेन्द्र शाह ‘बालेन’लाई रास्वपामा भित्र्याउने योजना भइरहेको भन्ने खबर बाहिरिएपछि बोहराले त्यसलाई असत्य र भ्रामक बताएका हुन् ।

ad

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘पार्टीमा पदाधिकारी छन्, प्रवक्ता र सहप्रवक्ता छन् । कसैलाई एक वचन नसोधी सिधै मिडिया ट्रायल गर्दिने ?’

उनले पार्टीभित्र नयाँ राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग छलफल भइरहेको कुरा स्वीकृत गरे पनि त्यो संवाद कुनै पद वा भूमिकासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । 

बोहराले भने, ‘सीके राउतदेखि गोपी हमाल लगायत विभिन्न नयाँ शक्ति, समूह र व्यक्तिहरूसँग छलफल भइरहेको छ । बालेन र कुलमानहरूसँग त पार्टी खोल्नु अगाडिदेखि नै संवादमा छौं । तर कुनै व्यक्ति या दलसँग पद वा भूमिकाबारे कुनै कुरा भएको छैन ।’

उनका अनुसार जेनजी आन्दोलनपछि रास्वपाले नयाँ पुस्तासँग संवाद बढाउन कार्यदल गठन गरेको छ तर पार्टी नेतृत्वमा परिवर्तनबारे कुनै छलफल भएको छैन ।

सभापति रवि लामिछानेलाई झूटा आरोप र मुद्दा खेप्दै पनि पुराना र नयाँ शक्तिहरूसँग एक्लै लडिरहेको बताउँदै बोहराले पार्टीभित्र र बाहिरबाट ‘झेल्ली नगरौं’ भन्ने आग्रह गरेका छन् ।

उनले भने, ‘सभापति झुठो मुद्दा खेपेर एक्लै पुरानादेखि नयाँसम्मसँग लडिरहेका बेला भित्र र बाहिरबाट झेल्ली नगरौं ल !’

बोहराको प्रतिक्रियाले हालै बढेका पार्टीभित्रका अड्कलबाजी र बाह्य राजनीतिक चर्चाहरूमाथि स्पष्ट सन्देश दिएको छ । रास्वपाको नेतृत्व परिवर्तनबारे अहिले कुनै औपचारिक प्रक्रिया सुरु नगरेको स्पष्ट भएको छ ।