
नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने तयारी गरिएको छ । सभापति शेरबहादुर देउवासहितका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई आसन्न मंसिर मसान्तबाटै बिदा गर्ने तयारी भएको हो ।
जेन–जी विद्रोहपश्चात् खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसीलगायत पदाधिकारीहरूले मंसिरभित्र जुनसुकै हालतमा नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । पार्टीको महाधिवेशन नियमित र समयमै गर्नुपर्नेमा नेताहरू एक मत देखिएका छन् ।
बैठकमा महामन्त्री गगन थापाले मंसिरमा कसरी महाधिवेशन गर्न सकिन्छ भनेर प्रारम्भिक मस्यौदासमेत पेस गरेका थिए ।
महामन्त्री थापाले नियमित समयमा महाधिवेशन गर्न नसक्ने भए दोस्रो विकल्पको रूपमा पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न सकिने भन्दै पहिलो प्राथमिकता भने नियमित महाधिवेशन हुनुपर्ने बताएका थिए ।
बैठकमा बोल्दै नेता शेखर कोइरालाले विगतकै बोली दोहोर्याउँदै किन्तु परन्तु होइन, शीध्र नियमित महाधिवेशन गर्नुपर्छ भन्दै बोलेका थिए । यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताए ।
बैठकमा बोल्ने नेताहरूले महाधिवेशन तयारीका लागि रातदिन खट्न सक्ने नेतृत्व चाहिने र त्यसका लागि कार्यवाहकले त्यो गर्ने अथवा अरु कोही सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो गर्नु उचित हुने बताएका थिए ।
यस्तै, बैठकमा २१ फागुनमा चुनाव गर्न सरकारलाई साथ र दबाब दिनुपर्ने पनि कुरा उठेको छ । महामन्त्री शर्माले प्रतिनिधिसभा विघटनलाई कार्यसम्पादन समितिले असंवैधानिक ठहर गरेको भन्दै अदालतले गर्ने संवैधानिक परीक्षण नै अन्तिम हुने बताएका थिए ।
बैठकपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले अशान्त वातावरणमा चुनाव हुन नसक्ने भन्दै सरकारलाई सचेत गराएका थिए । उनले चुनावका लागि शान्ति हुनुपर्ने बताउँदै देशमा अशान्ति फैलाउने काम सरकारबाटै भइरहेको आशय व्यक्त गरे ।
महतले सरकारले अहिलेसम्म दलहरूसँग वार्ता नगर्नु यसले पनि सरकार कति गम्भीर छ भनेर देखाउने बताए ।
प्रवक्ता महतले कांग्रेसमा कार्यवाहक सभापति तोकेर जाने विषयमा केही छलफल नभएको बताए । उनले केन्द्रीय समिति बैठकअघि पार्टीका नेताहरूको समान सोच विकसित होस् भनेर आज पदाधिकारी बैठक राखिएको बताए ।









Facebook Comments