काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक आज बसेको छ । 

यसअघि पुल्चोकस्थित हिमालय होटलमा बस्ने तयारी भएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सारिएको । बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए । 

ad

बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुनेछ ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि उनकै निवास बुढानीलकण्ठमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।

स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनका अनुसार असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने सभापति देउवा उपस्थित हुने छन् ।